संखुवासभा हत्या प्रकरण : हत्यामा प्रयोग भएको चिर्पट लोकबहादुरले घरमा लगेर बालेका थिए
संखुवासभा । संखुवासभाको मादी नगरपालिका-१ मा भाद्र २१ गते भएको एकै परिवारका ६ जनाको सामुहिक हत्यामा संग्लग्न रहेको आरोपमा पक्राउ परेका स्थानीय २५ बर्षीय लोक बहादुर कार्कीलाई प्रहरीले सार्वजनिक गरेको छ ।
भाद्र २१ गते छिमेकी ५५ बर्षीय तेज बहादुर कार्की, ५४ बर्षीया कमला भन्ने मनमाया कार्की, ३२ बर्षीया रञ्जना कार्की, ८ बर्षीय बिपिन भनिने दिपेन कार्की, ५ बर्षीया गोमा कार्की र ८४ बर्षीया पार्वती भन्ने पार्वता कार्कीको हत्यामा संलग्न रहेको आरोपमा लोकबहादुरलाई प्रहरीले पक्राउ गरेर सार्वजनिक गरेको हो ।
२१ गते बिहान साढे ६ बजेको समयमा कार्की परिवारको हत्या भएको भन्ने खबरपछि जिल्ला प्रहरी कार्यालय संखुवासभाको टोली, संघीय प्रहरी इकाई कार्यालय धरानबाट कुकुरसहितको प्रहरी टोली, १ नम्बर प्रदेश प्रहरी कार्यालयको अनुसन्धान टोली तथा केन्द्रीय अनुसन्धान ब्युरोको प्रहरी टोली समेत परिचानल भएको थियो ।
अनुसन्धानको नेतृत्व गर्न १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरबाट प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक अरुण कुमार बि.सी. सहितको अनुसन्धान टोलीपनि खटिएको थियो । सामुहिक हत्या भएको छैंठौ दिनमा पक्राउ गरी कार्कीलाई आज ईलाका प्रहरी कार्यालय चैनपुरमा पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको हो ।
पक्राउ परेका कार्की बैदेसिक रोजगारीको शिलशिलामा पटक पटक बिदेश गएपनि स्वास्थ्यमा समस्या देखिएपछि फर्केर घरमै बस्दै आएका थिए ।
आफू बिदेशमा रहदा केही कमाउन नसकेकोप्रति हिनताबोध भई समय समयमा बिक्षिप्त हुने गरेको प्रहरीको भनाई छ । आफै आवेश तथा आक्रोश आएर परिवारकै हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीको दाबी छ ।
अभियुक्तका काका समेत रहेका मृतक तेज बहादुर कार्कीले समय समयमा सम्झाई बुझाई गर्दै आईरहेका थिए । घटना भएको दिन बिहान मृतक तेज बहादुर कार्की लोकबहादुर कार्कीको घरमा खेताला भन्न गई फर्किएका थिए ।
फर्कने क्रममा लोकबहादुरले बिगतमा सम्झाई बुझाई गरेको शब्दहरूलाई गाली गलौजको रुपमा लिई तत्काल आवेशमा आई नजिकै रहेको दाउराको चिर्पटले टाउको पछाडी प्रहार गरी हत्या गरेको प्रहरीको भनाई छ ।
तेजबहादुरले हार गुहार गर्दा श्रीमती र बुहारी समेत घटनास्थलमा पुगेका थिए ।
घटनास्थलमा पुगेकालाई समेत लोकबहादुरले आक्रमण गरेको र बाटोको डिलमा रहेका दुई जना नाबालकलाई समेत चिर्पटले प्रहार गरी हत्या गरेको प्रहरीले उल्लेख गरेको छ । हत्यापछि घरमा रहेकी पार्वता कार्कीलाई कपालमा समातेर भित्तामा टाउको ठोकाई हत्या गरी लोकबहादुरले घटनामा प्रयोग भएको दाउरा घरमा लगेर आगो बालेका थिए ।
प्रहरीले भनेको छ,“शुरुमा तेज बहादुरको हत्या गरेका लोक बहादुरले तेज बहादुरको हत्या गरेको घर परिवारका अन्य सदस्यले समेत देखेको हुँदा घटनालाई ढाकछोप गर्न परिवारकै हत्या गरेको अनुसन्धानको क्रममा खुल्न आएको छ ।”








