संसद्मा देखिएको गतिरोध अन्त्य गर्नका लागि सभामुखले बोलाए सर्बदलीय बैठक,ओली नजाने
काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले संसद्मा देखिएको गतिरोध अन्त्य गर्नका लागि सबैदलीय बैठक आह्वान गरेका छन् ।
नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा रहेको लोत्से हलमा अपराह्न २ः३० बजे बस्ने गरी सर्बदलीय बैठक आह्वान भएको सभामुखका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जानकारी दिए ।
छलफलमा प्रधानमन्त्री एवं नेपाली कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवा, नेकपा (एमाले ) संसदीय दलका नेता केपी शर्मा ओली, नेकपा (माओवादी केन्द्र ) का संसदीय दलका नेता पुष्पकमल दाहाल, नेकपा (एकीकृत समाजवादी) का संसदीय दलका नेता माधवकुमार नेपाललाई आमन्त्रण गरिएको छ । ओलीले भने बैठकमा नआउने सन्देश पठाएका छन् ।
यस्तै जनता समाजवादी पार्टी (जसपा) संसदीय दलका नेता उपेन्द्र यादव, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेता महन्थ ठाकुर, जनमोर्चाका दुर्गा पौडेल, नेपाल मजदूर किसान पार्टी ९नेमकिपा० का प्रेम सुवाल र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का राजेन्द्र लिंदेनलाई आमन्त्रण गरिएको छ ।
संसद्को चालु अधिवेशन सुरु भएदेखि नै प्रमुख प्रतिपक्षी दल एमालेको अवरोधका कारण संसद् बैठक प्रभावित हुँदै आएको छ । हिजो पनि संसद् बैठक दुई पटक बसे पनि कार्यसूचीमा प्रवेश नै नगरी मङ्गलबारसम्मका लागि स्थगित भएको छ ।
अवरोध हटाउन सभामुख सापकोटाले आइतबार प्रतिपक्षी दलका मुख्य सचेतक विशाल भट्टराई, सचेतक शान्ता चौधरी र सांसद खगराज अधिकारीसँग छलफल गरेका थिए ।
एमालेले आफ्नो पार्टीले कारबाही गरेका सांसदलाई संसद् बैठकमा सहभागी हुन निषेधको माग गर्दै लगातार संसद्मा नाराबाजी गर्दै संसद अवरोध गर्दै आएको छ ।








