९ आश्विन २०७८, शनिबार

खुल्लामञ्चबाट विप्लवको प्रश्न,‘तपाईं देश रोज्नुहुन्छ कि एमसीसी’

प्रकाशित मिति :  २८ भाद्र २०७८, सोमबार १७:४५


काठमाडौं । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले अमेरिकी सहयोग नियोग मिलिनियम च्यालेन्ज कर्पोरेसन(एमसीसी) को विरुद्धमा शक्ति प्रर्दशन गर्दै कुनै हालतमा कार्यान्वयन हुन नदिने चेतावनी दिएको छ ।

सरकारसँग तीन बुँदे सहमति गर्दै गत वर्षको फागुन २१ गते ’खुल्ला राजनीतिमा आएपछि विप्लव नेतृत्व नेकपाको काठमाडौंमा यो पहिलो ‘खुल्ला शक्ति’ प्रर्दशन थियो ।

तीन बुँदे सहमतिका क्रममा काठमाडौंको राष्ट्रिय सभा गृहमा भएको कार्यक्रमलाई सम्बोधन गर्ने बाहेक नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ को काठमाडौंमा पहिलो सार्वजनिक सम्बोधन थियो । खुल्ला मञ्चमा भएको जनसभालाई सम्बोधन गर्दै विप्लवले एमसीसी कुनै हालतमा कार्यान्वयन हुन नदिने बताए ।

सम्झौता नेपालको स्वाधीनता र सार्वभौमिकताको विरोधमा रहेको भन्दै महासचिव विप्लवले नेपालमा पनि लप्सीफेदीदेखि सुगौलीसम्म बनाइने विद्युतका टावरको सुरक्षा खतराका नाममा अमेरिकी फौज नेपाल आउने खतरा देखिएको बताए ।

उनले प्रश्न गरे,“ तपाईं देश रोज्नुहुन्छ कि एमसीसी रोज्नुहुन्छ? जनताको अधिकार रोज्नुहुन्छ कि अमेरिकीहरू को गुलामी ? पैसा रोज्नुहुन्छ कि स्वभाविमान ? तपाईंलाई डलर चाहियो कि आफ्नो धर्ती चाहियो ?”

कुनले एमसीसी लागु गरिए परिणाम राम्रो नहुँने चेतावनी दिए । उनले भने,“आज त हामी एउटा सानो झिल्को बोकेर काठमाडौंमा उत्रिएका छौं । यदि एमसीसी जबरजस्ती पास गर्न खोजियो भने यो झिल्को राँको बन्छ ।”

उनले सरकारसँग भएको तीन बुँदे सहमति कार्यान्वयनका लागि इमान्दार भएको र इमान्दार बन्न सरकारलाई पनि सुझाव दिए । विप्लवले भने, “सरकारसँग ३ बुँदे सहमति गरेर हामीले उक्त सहमति इमानदारीपूर्व पालना गर्‍यौं तर राज्यले उक्त सहमति इमानदारीपूर्वक पालना गरेको छैन ।

अहिलेसम्म हाम्रा साथीहरूका मुद्दाहरू खारेज गरिएको छैन । देशको भविष्य आँखामा सजाएर हिँडेका नेता–कार्यकर्ता र युवाहरूलाई सरकारले दमन गरेको छ । हाम्रो देशका नागरिकलाई जिउँदै महाकाली नदीमा बगाउने शासकहरूका विरुद्ध आन्दोलन गर्दा सरकारले हामीलाई जेलमा लगेर सडाउँछ भने हामी एउटा ठूलो आन्दोलनको आँधीबेहरी सिर्जना गर्नेछौँ ।



प्रतिक्रिया दिनुहोस !