नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष नेपाल भन्छन्,‘एक हप्ताभित्र मन्त्रिपरिषद् विस्तार हुन्छ’
काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले केन्द्रीय कार्यालय सञ्चालनमा ल्याएको छ ।
काठमाठौं नयॅा बानेश्वरको आलोकनगर (तीनकुने पुल दक्षिण)मा पूजा थापा बस्नेतको घरमा नेकपा एकीकृत समाजवादीको कार्यालय सञ्चालनमा आएको हो । कार्यालय अध्यक्ष माधवकुमार नेपालले उद्घाटन गरेका छन् ।
नेकपा एमालेसँग विभाजनपछि नेकपा(एकीकृत) समाजवादीले केन्द्रीय कार्यालय सञ्चालनमा ल्याएको हो । कार्यालय उद्घाटनपछि नेता नेपालले पत्रकारसँग कुरा गर्दै एक हप्ताभित्र मन्त्रिपरिषदले पूर्णता पाउने बताएका छन् ।
मन्त्रिपरिषद्लाई कहिले पूर्णता दिने भनेर पत्रकारहरुले सोधेको प्रश्नमा उनले भने,“म प्रधानमन्त्री भएको भए ठ्याक्कै भनिदिन्थें, आशा गरौं, यो हप्ताभित्र हुने छ ।” अध्यक्ष नेपालले सरकारमा जान आफूहरू तयारी अवस्थामा रहेको बताए ।
उनले भने,“ हामी त आजै भने आजै, भोलि भने भोलि नै तयार छौं ।” असार २९ गते प्रधानमन्त्री नियुक्त भएका कांग्रेस सभापति शेरबहादुर देउवाले ३० गते ४ जना मन्त्री थपेका थिए ।
त्यसपछि अझै मन्त्रिपरिषद् विस्तार हुन सकेको छैन । मन्त्रिपरिषद् विस्तारमा ढिलाईसँग वर्तमान सरकारको आलोचना भइरहेको छ ।








