बँदेललाई धपाउन थापेको विद्युतीय तारको करेन्ट लाग्दा बर्दियामा एकै परिवारका ३ जनाको मृत्यु
बर्दिया । बर्दिया जंगली बँदेललाई धपाउन थापेको विद्युतीय तारको करेन्ट लाग्दा बर्दियामा एकै परिवारका ३ जनाको मृत्यु भएको छ ।
गएराती खेतमा पानी हेर्न गएका बेला छिमेकीले बँदेल धपाउन खेतमा लगाएको विद्युतीय तारको करेन्ट लागेर ३ जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा ठाकुरबाबा नगरपालिका ३ गोदाना गाउँमा ३२ वर्षीय बालकृष्ण थारु, उनकी श्रीमती २९ वर्षीया सुनिता थारु र बालकृष्णकी भाउजु ४३ वर्षीया बेलमती थारु रहेको इलाका प्रहरी कार्यालय भुरिगाउँले जनाएको छ ।
धानखेतमा करेन्ट प्रवाह गरेको आरोपमा मृतक परिवारका छिमेकी ८२ वर्षीय वृद्ध राज बहादुर शाहीलाई लाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
करेन्ट लागेर मानिसको मृत्यु भएको थाहा पाए लगत्तै खेतमा तार लगाएका शाही आफैले घरपरिवारमा जानकारी गराएका प्रहरीले जनाएको छ । घटना बारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय भुरिगाउँका प्रहरी निरीक्षक कबिराज रोकायले जानकारी दिए ।








