१ जेष्ठ २०८१, मंगलबार

सोलार मिनिग्रिड चलेसँगै थवाङ झिलिमिली

प्रकाशित मिति :  19 September, 2021 3:48 pm


रोल्पा । थवाङ गाउँ सोलार मिनिग्रिड चलेपछि झिलिमिली बनेको छ । थवाङ गाउँपालिका–१ विवाङमा सोलार मिनिग्रिड स्थापना गरिएपछि गाउँ झिलिमिली भएको हो ।

गाउँमा सोलार मिनिग्रिड सञ्चालन भएपछि धेरै सहज भएको स्थानीयवासी हीराबहादुर घर्तीले बताए ।

पहिले बेलाबेलामा बत्ती जाने र आएका बेला मोबाइल चार्ज गर्दासमेत समस्या भोग्दै आएको घर्तीले जानकारी दिए । यसरी गाउँपालिकामा सोलार मिनिग्रिड निर्माण भएपछि साना तथा मझौला उद्योग सञ्चालन गर्न सहज हुने घर्तीले बताए ।

नेपालको सबै भन्दा ठूलो १५० किलोवाट क्षमता भएको सोलार मिनिग्रिड स्थापना भएसँगै प्रभावकारी बन्दै गएको गाउँपालिकाका अध्यक्ष वीरबहादुर घर्तीले जानकारी दिए ।

गतवर्ष गाउँपालिकाको मङ्गारखोला माइक्रो हाइड्रोपावरबाट विद्युत् उत्पादन गरिएको थियो । उक्त विद्युत् १३।५ किलोवाट रहेको थियो । विद्युत् अनियमित हुँदा जनताले सास्ती भोग्दै आएको स्थानीयवासीले बताएका छन् ।

अहिले सौर्य ऊर्जाबाट उत्पादन गरिएको विद्युत्बाट उद्योग चलाउन सकिने समेत बताइएको छ । थवाङमा फर्निचर उद्योग चलाउँदै आएका कर्मधन रोकाले सोलार मिनिग्रिडबाट फर्निचर सम्बन्धी कार्य गर्न सहज भएको बताए । स्थानीय माइक्रो हाइड्रोपावर हुँदा वर्षातको समयमा कहिले पहिरो गएर विद्युत् अवरुद्ध हुने, कहिले रुख ढलेर अवरुद्ध हुने समस्याले जनताले धेरै कष्ट भोग्दै आएका थिए ।

अहिले २४ सै घण्टा बत्ती आइरहने र दैनिक कार्यमा सहज भएको गाउँपालिका अध्यक्ष घर्तीको भनाइ छ ।

केन्द्रीय प्रसारण लाइन नपुगेका र पु¥याउन धेरै समय लाग्ने दुर्गम ठाउँमा घामबाट सुरु हुने सोलार मिनीग्रिड प्रभावकारी हुने थवाङ सोलार मिनिग्रिड निर्माणकार्य सूर्योदय प्राली काठमाडौँका सिनियर टेक्निसियन प्रज्ज्वल श्रेष्ठले बताए ।

वैकल्पिक ऊर्जा प्रवद्र्ध्न केन्द्रको ८ करोड ३४ लाख १८ हजार तथा गाउँपालिकाको ८१ लाख २ हजार रुपैयाँ गरी कूल लागत ९ करोड १५ लाख २० हजार बराबर रकममा आयोजना सम्पन्न गरिएको थवाङ सोलार मिनिग्रिड सञ्चालन समितिका अध्यक्ष वसन्त रोकाले बताए । उक्त सोलार मिनिग्रिडबाट गाउँपालिकाका करिब ३९२ घरधुरी लाभान्वित भएका छन् । रासस



प्रतिक्रिया दिनुहोस !