१ जेष्ठ २०८१, मंगलबार

दाङमा पुरुषलाई ‘हनिट्रयाप’मा पारेर ५० लाख रुपैयाँ बार्गेनिङ गर्ने ३ महिला पक्राउ

प्रकाशित मिति :  19 September, 2021 5:41 pm


दाङ । दाङमा होटेलमा बोलाई पुरुषलाई हनिट्रयापमा पारी ५० लाख रुपैयाँ बार्गेनिङ गर्ने ३ पेशेवर महिलालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा घोराही उप-महानगरपालिका वडा नं.१५ बस्ने बर्ष ३२ की सितादेवी थापा र वर्ष ३५ की खुमा वली र वडा नंम्बर ५ वस्ने ३२ वर्षीया सुस्मा परियार रहेका छन् ।

गत असार ६ गते घोराहीमा भद्रबहादुर जैसी (परिवर्तित नाम)लाई सीतादेवी थापाले फोन गरेर ‘मेरो घरायसी विषयको मुद्दा छ, तपाईं कानुनको बारेमा जानेको मान्छे’ भनी सल्लाह गर्न बोलाएकी थिइन् । त्यसपछि जैसीले घोराही उपमहानगरपालिका–१५ को कोहिनुर रेष्टुरेन्टमा घोराही नगरपालिका–१५ कि थापा र खुमा वलीलाई भेटे ।

जिल्ला प्रहरी कार्यालय दाङका अनुसार रेष्टुरेन्टको क्याबिन कोठामा मुद्दाको बारेमा कुराकानी गरेपछि घर फर्किने बेलामा थापा कोठाको खाटमा पल्टिएको र पैसा तिरिसक्दा पनि तल नझरेपछि जैसीले बोलाउन गएका थिए । जैशीले बोलाउन जाँदा गालीगलौच गरेर ‘मेरो इज्जतमा हात हाल्ने अब म छोड्दिन जबर्जस्ती करणीमा मुद्दा हाल्छु’ भनी महिलाले धम्काएका थिए ।

असार ७ गते खुमा वलीले फोन गरी ‘सीतादेवीका ठूलावडा मान्छे छन्, मुद्दा दर्ता गर्ने कुरो गर्दैछिन् के गर्ने, हामी मिलाउँछौं, प्रहरी कार्यालयमा यो कुरा पुग्न दिँदैनौं केही पैसा तपाईंले दिनुपर्छ आउनुस् छलफल गरौं’ भनेर जैसीलाई फेरि बोलाइएको थियो ।

उनीहरूको फेरि सागर एण्ड सुनील रेष्टुरेन्ट तथा लजमा भेट भयो । त्यस क्रममा महिलाले छिटो कुरा मिलाउनुपर्‍यो नत्र प्रहरीमा उजुरी हाल्छौं भनेर डर धाक धम्की दिई ५० लाख रुपैयाँ मागेका थिए ।

जैशीले आफूसँग त्यति ठूलो रकम नभएको भनेपछि महिलाहरूले मुद्दा नहाली छाड्दै छाड्दैनौं भनेर १ लाख रुपैयाँ र १७ लाख रुपैयाँको चेक लिएका थिए । लगत्तै जैसीले प्रहरीमा उजुरी दिएका थिए ।

पीडितको उजुरीका आधारमा प्रहरीले थापाको कोठामा खानतलासी गर्दा १७ लाख रुपैयाँको चेक भेटेको छ भने नगद १ लाख भने ब्याजमा लगाइसकेको दाङ प्रहरीले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !