आजदेखि सोह्रश्राद्ध सुरु
काठमाडाैं । आजदेखि पितृ कार्यका लागि बिशेष मानिने सोह्रश्राद्ध सुरु भएको छ । आश्विन कृष्ण प्रतिपदादेखि सोह्रवटा तिथिमा दिवङ्गत भएका पितृलाई सम्मानका साथ पिण्ड र सिधा दानका साथै तर्पण दिने भएकाले यो पक्षलाई पितृ पक्ष एवं सोह्रश्राद्ध भनिएको हो ।
हिन्दु धर्मालम्बीहरुले चाडपर्व तथा ठूला कार्य गर्नुअघि पितृलाई श्रद्धा भक्तिका साथ सम्झिने वैदिक सनातन हिन्दू शास्त्रीय परम्पराअनुसार सोह्रश्राद्ध गर्ने गरिएको हो । दिवंगत भएका पितृले आश गरी बसेका हुन्छन् भन्ने शास्त्रीय मान्यता अनुसार दशैतिहार र छठ जस्ता पर्व शुरु हुनु अगावै पितृका नाममा तर्पण दिने मान्यता रही आएको छ ।
सोह्रश्राद्ध शुरु भएदेखि सोह्र दिनसम्म काठमाडौंको पशुपतिनाथ, गोर्कण, शोभाभगवति, गुल्मीको रिडी, बराह क्षेत्र, त्रिवेणीधाम, देवघाट जस्ता धार्मिक क्षेत्रमा पितृ तर्पण दिनहरुको भीड लाग्ने गर्दछ ।
कोरोनाका् जोखिमका गत बर्ष सरकारले धार्मिक स्थानहरुमा भीडहुने भन्दै मन्दिरमा नित्य पूजा बाहेका कार्यमा रोक लगाएको थियो । यस वर्ष पनि नयाँ भेरियन्ट सहितको कोरोना भाइरसको सङ्क्रमणबाट बच्न जारी निषेधाज्ञाका कारण स्वास्थ्य मापदण्ड पालन गरी कर्मकार्य गर्न स्थानीय प्रशासनले अनुरोध गरेकाे छ ।








