४ जेष्ठ २०८१, शुक्रबार

एनसेलले राष्ट्रिय दादुरा–रुबेला अभियानमा सघाउने

प्रकाशित मिति :  14 February, 2020 1:09 pm


काठमाडौं, २ फागुन। एनसेलले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र युनिसेफसँगको सहकार्यमा राष्ट्रिय दादुरा–रुबेला अभियान २०७६/७७ मा सघाउने भएको छ ।

खोप अभियान अन्तर्गत सरकारले ९ महिनादेखि ५ वर्ष सम्मका करिब ३० लाख बालबालिकालाई दादुरा रुबेला खोप लगाउने लक्ष्य राखेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य सेवा विभाग अन्तरगतको परिवार कल्याण महाशाखाले यो अभियान दुई चरणमा लागु गर्नेछ । फागुन १ गते सुरुर भई फागुन ३० सम्म संचालनमा रहने पहिलो चरण अन्तरगत प्रदेश नं. १, २ र ५ का बालबालिकालाई दादुरा र रुबेला खोप लगाईनेछ ।
दोस्रो चरण चैत्र १ गते देखि चैत्र ३० गते सम्म संचालन हुनेछ र यो चरणमा बाँकी प्रदेशहरु बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिमका बालबालिकालाई यी खोपहरु लगाईनेछ ।

परिवार कल्याण महाशाखा अन्तर्गत बालस्वास्थ्य तथा खोप शाखाका प्रमुख डा. झलक शर्मा गौतमले भने, ‘दादुरा रुबेला विरुद्धको खोप शत् प्रतिशत बालबालिकालाई लगाउनका लागि जनचेतना अभिवृद्धि गर्न एनसेलबाट हामीलाई धेरै सहयोग प्राप्त भएको छ । सहयोग निरन्तर रहनेछ भन्ने आशा राख्दछौं ।’ त्यसतै एनसेलका प्रमुख कार्यकारी अधिकृत एण्डी चोङ्गले भने, ‘राष्ट्रिय प्राथमिकतामा रहेको दादुरा रुबेला खोप अभियान अन्तरगत खोपको महत्वका बारेमा जनचेतना अभिवृद्धिको लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग सहकार्य गर्न पाएकोमा हामी निकै हर्षित छौं । हाम्रो सामाजिक जिम्मेवारी कार्यक्रम अन्तरगत स्वास्थ्य क्षेत्र हाम्रो प्रमुख प्राथमिकतामा रहेको छ र एक अग्रणी जिम्मेवार कर्पोरेट नागरिकको रुपमा हामीलाई यस किसिमको राष्ट्रिय अभियानमा सहकार्य गर्ने अवसर दिइएकोमा गौरवान्वित छौं ।’
सरकारी तथ्याङ्कले सन् २०१५ पछि दादुरा रुबेला रोगका घटनाहरु बढ्दो क्रममा रहेको देखाउँछ । नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षणको तथ्याङ्क अनुसार १२ देखि २३ महिनाका बालबालिकामा सबै खोपको मात्रा पुरा गर्ने बालबालिकको संख्या २०११ मा ८७ प्रतिशत रहेकोमा सन् २०१६ सम्ममा ७८ प्रतिशतमा घटेको छ ।



प्रतिक्रिया दिनुहोस !