२३ बैशाख २०८१, आइतबार

छ महिना पनि टिकेन कालोपत्र

प्रकाशित मिति :  19 February, 2020 12:51 pm


तुलसीपुर, ७ फागुन ।

तुलसीपुरस्थित हेमन्तपुर–टरिगाउँ सडकखण्डमा कालोपत्र गरेको ६ महिना नपुग्दै उप्किएको छ । कालोपत्र उप्किएपछि पूर्वाधार विकास कार्यालय दाङले सम्बन्धित निर्माण कम्पनीलाई सडक मर्मतका लागि पत्रसमेत पठाइसकेको जनाएको छ ।

“केही ठाउँमा कालोपत्र उप्किएको छ, उप्किएको ठाउँमा हामीले मर्मतका लागि पत्र पठाएका छौँ”, कार्यालय प्रमुख वासुदेव भण्डारीले भने, “जाडो मौसममा कालोपत्र गर्दा त्यो दिगो हुँदैन, पुनः उप्किहाल्छ, त्यसैले जाडो मौसम सकिएसँगै उनीहरुले काम शुरु गर्छन् ।”

उक्त सडकखण्डको साइपुर–जहदागाउँ खण्डमा यस्तो समस्या देखिएको छ । गएको आवको अन्तिमतिर उक्त सडकको कालोपत्र निर्माणको काम पूरा भएको हो ।

तर छ महिना नपुग्दै विभिन्न स्थानमा उप्किएको तथा चर्किएको छ । प्रदेश नं ५ सरकारको करिब दुई करोड २० लाख लागतमा उक्त सडकखण्डमा कालोपत्र गरिएको हो ।

हेमन्तपुर–मानपुर–टरिगाउँ सडकखण्डलाई तीन भागमा विभाजन गरेर कालोपत्र गरिएको थियो । फरक–फरक तीन निर्माण कम्पनीले उक्त सडकखण्डमा कालोपत्र गरेका थिए ।

तीमध्ये झरना निर्माण सेवाले कालोपत्र गरेको स्थानमा त्यस्तो समस्या देखिएको प्रमुख भण्डारीले बताए । उनका अनुसार सोही निर्माण कम्पनीलाई उप्केको तथा चर्किएको स्थानमा पुनः कालोपत्र गर्न पत्र गरिएको छ ।

कुनै पनि निर्माण कम्पनीले निर्माण पूरा गरेको एक वर्षसम्म बिग्रिएको, भत्किएको अवस्थामा पुनः मर्मत गर्नुपर्ने भन्दै सोहीअनुसार उक्त कम्पनीलाई मर्मतका लागि पत्र पठाइसकेको उनको भनाइ थियो ।

“कुनै पनि निर्माण कम्पनीले निर्माण पूरा गरेको एक वर्षभित्र बिग्रियो, भत्कियो भने पुनःनिर्माण गरिदिनुपर्छ”, उनले भने, “अन्यथा उनीहरुको धरौटी जफत हुन्छ ।”

यो नियतवशभन्दा पनि प्राविधिक त्रुटि भएको भन्दै यसलाई निर्माण कम्पनीले तुरुन्त ममर्त गर्नुपर्ने इञ्जिनीयर चन्द्र शाहले बताए ।

“यो धेरै ठूलो कमजोरी होइन, सबै ठाउँमा शतप्रतिशत राम्रो हुन्छ भन्ने छैन”, उनले भने, “केही समस्या पक्कै भएको छ, यसमा निर्माण व्यवसायीले गल्ती स्वीकार गरेर पुनः मर्मत गर्नुपर्छ ।” रासस



प्रतिक्रिया दिनुहोस !