६ बैशाख २०८१, बिहिबार

चालक अनुमतिपत्रका लागि तीन सातामा चार लाखको आवेदन

प्रकाशित मिति :  15 November, 2021 5:30 pm


काठमाडौं । लामो समयसम्म अवरुद्ध रहेको सवारी चालक अनुमतिपत्र भर्नेको सङ्ख्या तीन सातामा नै झण्डै चार लाख पुगेको छ ।

यातायात व्यवस्था विभागले कात्तिक ८ गतेदेखि आवेदन पुनः खुलाएको थियो । दुई वर्षयता नियमितरुपमा सेवा चालू नभएकाले पनि थोरै समयमा धेरैको आवेदन परेको यातायात व्यवस्था विभागले जनाएको छ । कात्तिकभन्दा पहिलेसम्म झण्डै दुई लाख आवेदन दिएकाको परीक्षा लिन बाँकी रहेकामा अहिले त्यो सङ्ख्या झण्डै ६ लाखको हाराहारीमा पुगेको विभागका प्रवक्ता डा. लोकनाथ भुसालले बताए ।

कोभिड सङ्क्रमणका कारण यातायात व्यवस्था कार्यालयले परीक्षा लिने अवस्था नहुँदा आवेदन स्थगित गरिएको थियो । विभागले आवेदन लिइरहँदा यातायात व्यवस्था कार्यालयले पनि नियमितरुपमा परीक्षा सञ्चालन गरिरहेका छन् । दैनिक रुपमा नयाँ आवेदन दिने बढिरहेको विभागका प्रवक्ता डा. भुसालले बताए ।

कात्तिकको दोस्रो सातादेखि नै आवेदन पुनः खुलाइएको भए पनि बीचमा झण्डै चार दिन अवरुद्ध भएको थियो । एकैपटक धेरै सेवाग्राहीले आवेदन भर्न खोज्दा समस्या आएको प्रवक्ता भुसालले बताए । गत वर्ष पनि विभागले अनलाइन फाराम खुलाउनासाथ भर्न नसकिने समस्या देखिएको थियो ।

सेवाग्राहीको चापका आधारमा पनि सफ्टवेयरको क्षमता बढाइएकाले अहिले समस्या नआएको विभागले जनाएको छ ।

 



प्रतिक्रिया दिनुहोस !