२२ बैशाख २०८१, शनिबार

वीरेन्द्रनगरमा एक अर्ब ५९ करोडमा कर्णाली रङ्गशाला निर्माण सुरु, ३० महिनामा निर्माण सम्पन्न हुने

प्रकाशित मिति :  15 November, 2021 5:56 pm


सुर्खेत। कर्णाली प्रदेश राजधानी वीरेन्द्रनगर सुर्खेतमा रु एक अर्ब ५९ करोड ४७ लाख ४७ हजार ६०० लगानीमा रङ्गशाला निर्माण सुरु भएको छ ।

प्रदेश सरकारको लगानीमा सो रङ्गशाला निर्माण सुरु भएको हो । रङ्गशाला निर्माणार्थ मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आइतबार मुख्यमन्त्री जीवनबहादुुर शाहीका उपस्थितिमा कर्णाली प्रदेश खेलकुद परिषद् र निर्माणको जिम्मा लिएको कम्पनी एमएसी/जिएसएल जोइन्ट भेन्चुर कान्तिपथ काठमाडौँबीच आइतबार सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

“हरेक ठूला आयोजना सङ्घ सरकारबाट हुँदै आएका छन् तर यतिबेला कर्णाली प्रदेश सरकारले पहिलो प्रदेश गौरवको आयोजनाका रुपमा ठूलो लगानी गरेर रङ्गशाला निर्माणको कार्यलाई अगाडि बढाएको छ”, मुख्यमन्त्री शाहीले भने, “यसको निर्माण कार्य जिम्मा लिएको कम्पनीले तोकिएको मितिभन्दा अगावै सक्ने गरी दिनरात खटिएर काम गर्न अनुरोध गर्दछु ।” प्राकृतिक रुपले सम्पन्न कर्णालीको विकासमा दत्तचित्त भएर लाग्न निर्माण व्यवसायीलगायत राष्ट्रसेवक सम्पूर्ण कर्मचारीलाई उनले सुझाए ।

कर्णाली प्रदेश खेलकुद परिषद्का सदस्य सचिव विश्वामित्र सञ्ज्यालले इपिसी डिजाइन एण्ड बिल्डअनुसार सम्झौता भएको रङ्गशालाको निर्माण फिफा स्ट्याण्डर्डमा हुने जानकारी दिए ।

“हामीले दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता कर्णालीमा आयोजना गर्ने उद्देश्यका साथ निर्माणको काम आइतबारदेखि लागू हुने गरी सम्झौता गरेका छौँ”, उनले भने, “दशहजार दर्शक अट्ने क्षमताको प्याराफिटसहितको रङ्गशालाको निर्माण कार्य ३० महिनामा सम्पन्न हुनेछ ।”

दशहजार दर्शक क्षमताका रङ्गशालामा भूकम्प प्रतिरोधी प्यारोफिट बन्नेछ। भिआइपी प्यारोफिट, मिडिया रुम, रेफ्री, चेन्जिङ र रिफ्रेस रुम, मेडिकल रुम, फिजियोथेरापी, भिआइपी वेटिङ रुमका साथै अण्डरग्राउण्ड पार्किङ निर्माण गर्ने गरी रङ्गशालाको डिजाइन गरिएको परिषद्का सदस्य सचिव सञ्ज्यालले जनाए ।

उनका अनुसार टिभी लाइभ ब्रोडकाष्ट प्लेटफर्म, रङ्गशालाभित्रै ओलम्पिक टर्च स्ट्याण्ड र फिफा मापदण्डकै स्वीमिङ पुल पनि निर्माण हुनेछ । यसभित्र एक हजार ५०० दर्शक अट्ने बहुउद्देश्यीय कभर्डहल, भलिबल, ह्याण्डबललगायतका खेल खेल्न मिल्ने छन् ।



प्रतिक्रिया दिनुहोस !