१५ चैत्र २०८०, बिहिबार

अझै गति लिएन छाङ्गरु-तिङ्कर जोड्ने घोरेटो निर्माणले

प्रकाशित मिति :  3 December, 2021 12:15 pm


दार्चुला । दार्चुला व्याँस गाउँपालिकाको छाङ्गरु तिङ्कर जोड्ने गरी निर्माण सुरु गरिएको घोरेटो बाटोको कामले गति लिएको छैन । व्याँसीवासीलाई आफ्नै भूमि भएर आवतजावत गर्न गोरेटो निर्माणको लागि ठेक्का भए पनि अहिलेसम्म कामले भने गति लिएको छैन ।

नेपालतिर बाटो नहुँदा व्याँस गाउँपालिका–१ छाङ्गरु, तिङ्कर, व्याँस –२ को दुम्लिङ, कल्जु, माललगायतका गाउँका स्थानीय आफ्नै भूमि भएर आवतजावत गर्न समस्यामा परेका छन् । दुई वर्षदेखि त्यहाँका नागरिकले भारतीय भूमि भएर आवतजावत गर्नुपरेको छ ।

व्याँस–२ दुम्लिङदेखि छाङ्गरुसम्मको ३० किलोमिटर घोरेटो निर्माणका लागि सम्झौता भएको आठ महिनासम्म पनि निर्माणको कामले गति लिन सकेको छैन । संघीय सरकारको रु पाँच करोडमा बोलपत्र आह्वान गरेकामा कूल रु तीन करोड ३२ लाखमा लागतमा पुष्पाञ्जलि रिठगडे निर्माण सेवा दार्चुलासँग गत वैशाखमा ठेक्का सम्झौता भएको छ ।

वि.सं. २०७७ फागुनमा बोलपत्र भई २०७८ वैशाखमा निर्माण कम्पनीसँग घोरेटो निर्माणका लागि दुई वर्षको सम्झौता भएको छ तर ठेकेदारले समयमै काम नगर्दा यो पटक व्याँसीले कुञ्चा सर्दा भारतीय बाटोको प्रयोग गर्नुपरेको व्याँसका स्थानीयवासी विमल बोहराले जानकारी दिए। आफ्नै भूमि भएर बाटो नहुँदा व्याँसको छाङ्गरु तिङ्कर पुग्ने नागरिकले सास्ती भोग्नुपरेको छ ।

व्याँसी सौका समुदाय छ महिना खलङ्गा तथा छ महिना छाङ्गरु र तिङ्करमा बसाई सर्ने गर्दछन् । हिउँदेयाम सुरु हुने बित्तिकै सौका समुदायका मानिस लालाबालासहित खलङ्गा झर्ने गर्दछन् । नेपालबाट बाटो नभएकै कारण उनीहरु भारतको बाटो प्रयोग गर्दै आइरहेका छन् । भारतको बाटो प्रयोग गर्दै खलङ्गासम्म आउन उनीहरुलाई भारतीय सुरक्षाकर्मीले विभिन्न बाहानामा ठाउँ ठाउँमा दुःख दिने गरेको बताइएको छ ।

स्थानीयवासी बोहराले भने, “आफ्नै देशको भूमि जान भारतीय अनुमति लिनुपर्छ । उनीहरुले अनुमति नदिए गाउँ आउजाउ गर्न सकिने अवस्था छैन । योभन्दा हाम्रो लागि अरु विडम्बना के हुनसक्छ ।”

निर्माण व्यवसायी मानबहादुर बमका अनुसार जिरो पोइन्टदेखि दुई/तीन किलोमिटर घोरेटो बाटो निर्माण गरे पनि गत भदौमा आएको बाढी र पहिरोले सबै बगाएर लगेको दाबी गरे । अहिले बयली, दोपाखे र पोला भन्ने ठाउँमा घोरेटो बाटो निर्माणको काम थालिएको उनले जानकारी दिए । वर्षा तथा कोरोना सङ्क्रमणका कारण भएको लकडाउनले काममा ढिलाइ भएको उनले बताए।

३० किलोमिटर घोरेटो बाटोको कल्जु, बुदी, सगनाडी र अपि भन्ने ठाउँका खोलामा पुल निर्माण गर्नुपर्ने जनाइएको छ । घोरेटोबाट तीव्रगतिमा निर्माण गर्न विष्फोटक पदार्थको अभाव रहेको निर्माण व्यवसायी बमले बताए । ‘आवश्यक विष्फोटक पदार्थ उपलब्ध गराईदिन भन्दै जिल्ला प्रशासनमा निवेदन दिएको छु,’ उनले भने ।-रासस



प्रतिक्रिया दिनुहोस !