२१ बैशाख २०८१, शुक्रबार

दिल्लीमा दंगा : मस्जिदमा फहर्‍याइयो हनुमानको झण्डा

प्रकाशित मिति :  26 February, 2020 12:38 pm


काठमाडौ, १४ फागुन ।

भारतको राजधानी नयाँ दिल्लीको उत्तरपूर्वी क्षेत्र अहिले ‘युद्ध’ मा होमिरहेको अवस्थामा एक महिलाले ‘द क्विन्ट’  अनलाइनमा ‘राम वाणी’ सुनाइएरहेकी थिइन्। उनको पछाडी हातमा ‘श्री राम’ र ‘हनुमान’ लेखिएको झण्डा बोकेर तालि बजाउँदै समर्थन गरिरहेका थिए।

‘उनीहरु हाम्रो राष्ट्रमा छन्। उनीहरुले जय श्री राम भन्नै पर्छ। ‘बन्डे मातरम्’ गाउनै पर्छ। उनीहरु यहींको खान्छन् र पाकिस्तानको साथ दिन्छन्।’

‘मुस्लिम विरोधी’ यस्तै भड्काउ भाषणका कारण नै अहिले दिल्ली जलिरहेको भारतीय संचारमाध्यमको दाबी  छ।

केन्द्रमा रहेको नरेन्द्र मोदी सरकारले कार्यान्वयनमा ल्याएको नागरिकता संशोधन विधेयक (सीएए) र नेशनल रजिस्टर अफ सिटिजन ‘एनआरसी’ को विरोधमा भारतभर विभिन्न स्थानमा कयौं महिनादेखि प्रदशर्न भइरहेको थियो। राजधानी दिल्लीमा पनि विरोध भइरहेका थियो। दिल्लीको शाहिनबाग, मौजपुर लगायतका क्षेत्रमा विरोध गर्नेहरु धेरैजसो मुस्लिम समुदायका थिए। उनीहरु सीएएसँगै ल्याइने एनआरसीबाट त्रसित बन्दै विरोध गरिरहेका थिए।

तर गएको तीन दिनयता दिल्लीको उत्तरपूर्वी क्षेत्रमा यसै विषयलाई लिएर हिंसा भड्किएको छ। हिंसामा सयौं घाइते हुँदा मृतकको संख्या २० पुगेको छ।

हिन्दुत्वको वकालत गर्दै सीएए विरुद्ध प्रदशर्न गरिरहेकाहरुलाई ‘जसरी पनि सडकबाट हटाउने’ भाषण सत्तारुढ भारतीय जनता पार्टीका नेताहरुले दिएका थिए। त्यसमा सबैभन्दा पहिलो नम्बरमा आउँछन् कपिल मिश्र। उनले प्रदशर्न भइरहेको स्थानमा गएर ट्रम्प गएलगत्तै विरोध गरिरहेकाहरुलाई उनीहरुले नमाने पनि हटाउने ‘भड्काउ भाषण’ दिएका थिए।

त्यसैको उपज- अहिले दिल्ली जलिरहेको छ। मुस्लिमहरुका घरहरु जलाइएको, हिन्दुत्वको नारा दिइरहेकाहरु घरघरमा पसेर तोडफोड गरिहरेको भिडियो सामाजिक संजालमा भाइरल भइरहेको छ।

भाइरल भएका भिडियो मध्ये मोदी सरकारको टाउको दुखाइ बनेको छ दिल्लीको अशोक नगरको दृश्य।

मंगलवार मुस्लिम समुदायको न्यून उपस्थिति रहेको अशोक नगर क्षेत्रमा हिन्दुत्व वकालत गर्दै पुगेका युवाहरुको समूह पुग्यो। बस्ती तोडफोड भयो। मुस्लिम समुदायमाथि हातपात भयो। यसैबीच केही युवक त्यहाँ रहेको मस्जिदमा चढे र मस्जिद भत्काउन शुरु गरे। ‘जय श्री राम’ र ‘हिन्दुओंका हिन्दुस्तान’ भन्दै मस्जिदको ‘मिनारेट’ मा पुगेका ती युवाहरुले त्यहाँ ‘हनुमानको झण्डा’ फहराएका थिए।

भारतको राष्ट्रिय झण्डा बोकेर पहिला पुगेका युवाले ‘मिनारेट’ भत्काउन खोज्छन्। तर नसकेपछि उनले हनुमानको झण्डा मस्जिदमा फहराउँछ।

घटना भइरहेको बेलामा प्रहरी उक्त स्थानमा तैनाथ नरहेको बताइएको छ। पछि प्रहरीले ती क्षेत्रमा रहेका मुस्लिम समुदायलाई बाहिर निकालेको थियो।

दिल्लीमा मुस्लिममाथि आक्रमणको घटना बढेपछि कयौं मुसलमानहरु सुरक्षति स्थानको खोजीमा दिल्ली बाहिर पलायन हुन थालेका छन्।



प्रतिक्रिया दिनुहोस !