२३ बैशाख २०८१, आइतबार

सरकारी अस्पतालका स्वस्थ्यकर्मीले पाएनन् जोखिम भत्ता

प्रकाशित मिति :  20 January, 2022 4:17 pm


चितवन । चितवन जिल्लामा रहेका दुई ठूला सरकारी अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीले साउनयता जोखिम भत्ता पाएका छैनन् ।

जिल्लाको भरतपुर अस्पताल र बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा कोभिडको बिरामीको उपचार हुँदै आएका छन् । क्यान्सर अस्पतालमा यो समयमा न्यून बिरामी भए पनि भरतपुर अस्पतालमा भने नियमित बिरामी छन् । भरतपुर अस्पतालका सूचना अधिकारी गोपाल पौडेलका अनुसार साउनयता जोखिम भत्ता उपलब्ध हुन सकेको छैन ।

सरकारले वैशाखबाट ६ महिनाका लागि तलबको ५० प्रतिशत जोखिम भत्ता दिने निर्णय गरेको थियो । सोही अनुरुप पहिलो तीन महिनाको जोखिम भत्ता आएको भए पनि पछिल्लो समयको भत्ता नआएको उनले जानकारी दिए। भरतपुर अस्पतालले हालसम्म रु ११ करोड ५० लाख सङ्घीय सरकारबाट प्राप्त जोखिम भत्ता वितरण गरिसकेको छ । सुरुवाती चरणमा अस्पताल विकास समितिले रु ६० लाख जोखिम भत्ता वितरण गरेको थियो ।

अस्पताल विकास समितिका अध्यक्ष डा. भोजराज अधिकारीले अस्पतालमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीलाई असारसम्मको जोखिम भत्ता वितरण गरिएको भए पनि त्यसयता निकासा हुन नसकेको बताए। भरतपुर अस्पतालले नर्सिङ कार्यक्रममा कार्यरत कर्मचारी बाहेक सबैलाई जोखिम भत्ता तलबको ५० प्रतिशत दिएको थियो । “जोखिममा काम गर्नेलाई सुविधा दिनुपर्छ । निकासाका लागि अनुरोध गरेका छौं,” उनले भने । विकास समितिले रकम थप गर्न परे तयार रहेको भन्दै उनले जोखिममा काम गर्नेलाई प्रोत्साहन गर्नुपर्ने बताए ।

भरतपुर अस्पतालमा रहेका कर्मचारीलाई मासिक रु दुई करोड २५ लाख बराबर तलब खर्च हुने गर्दछ । त्यसको आधा जोखिम भत्ता दिने गरिएको छ । क्यान्सर अस्पतालमा कोभिड वार्डमा कार्यरत चिकित्सक कर्मचारीले पनि साउनयता भत्ता पाएका छैनन् । अस्पतालमा साउन यता कोभिड वार्ड रहेपनि खासै बिरामी बसेको पाइएन । कहिलेकाहीँ बिरामी आउने भएकाले कर्मचारी भने खटिएको अस्पतालले जनाएको छ ।

अस्पतालका कार्यकारी निर्देशक डा देजकुमार गौतमले गतसाल काम गर्नेलाई जोखिम भत्ता दिएको बताए । झण्डै रु ३० लाख हाराहारी जोखिम भत्ता अस्पतालले वितरण गरेको जनाएको छ । गौतमले सरकारले भत्ता पठाएमा वितरण गर्ने बताए।

अब फेरि सङ्क्रमण बढेकाले पहिले काम गर्नेलाई भत्ता बाढ्न पाएमा काम लगाउन सहज हुने उनको भनाइ छ । निजी मेडिकल कलेज पनि कोभिडमा काम गर्नेलाई प्रोत्साहनस्वरुप जोखिम भत्ता वितरण गर्दै आएका छन् । चितवन मेडिकल कलेजका प्रमुख कार्यकारी अधिकृत प्रताप देवकोटाका अनुसार त्यहाँ कोभिड वार्डमा काम गर्ने चिकित्सक कर्मचारीलाई दैनिक रु एक हजार भत्ता दिँइदै आएको छ । सङ्क्रमणस्थलमा काम गर्ने सबैलाई भत्ता दिइएको उनले जानकारी दिए ।

सरकार र निजीमा सङ्क्रमणमा काम गर्ने चिकित्सक कर्मचारीलाई जोखिम भत्ता दिन नसक्दा काममा लगाउन अप्ठयारो हुने प्रशासकले बताएका छन् । अस्पतालसँगै स्वास्थ्य केन्द्रमा पनि सङ्क्रमणमा काम गर्न चिकित्सक स्वास्थ्यकर्मी बाध्य छन् । पालिकाले पनि सङ्क्रमणमा काम गर्नेलाई भत्ता दिने गरेका छन् । रासस



प्रतिक्रिया दिनुहोस !