८ जेष्ठ २०७९, आइतबार
संस्मरण

बर्लिनमा रात

प्रकाशित मिति :  9 April, 2022 6:15 pm


रमेश क्षितिज । हिउँदका दिनहरु अत्यन्त लामा उदास र अध्यारा भए पनि समरमा न गर्मी न जाडो हुने रमाईलो – यूरोप । यसबेला बेलुका ११/१२ बजेसम्म पूरै उज्यालो हुने – यूरोप । हामी एशियालीका लागि नयाँ अनुभव हुनेरहेछ – उज्यालो रात !

एक दिन खाना खाने निम्तोमा कतै पुगेको बेला झ्यालका बाक्ला पर्दाहरु देखेर मैले सोधेँ – के यो जाडो छल्नका लागि हो ? हाँस्दै सहृदयी उहाँले भन्नुभयो – होइन कोठा अध्यारो बनाएर रात पार्न हो । दिउसो नै ठानेर केटाकेटी बाहिर खेल्न खोज्छन् ।सुत्दैनन् त्यसैले ।

सप्ताहान्तमा यूरोपका बिभिन्न शहरहरु घुम्ने योजनाअनुरुप अबको पालो बर्लिन भ्रमणको लागि थियो यसपालि ।शुक्रबारको दिन पालैपालो एक एक गरेर खुसुक्क निस्कदै क्लास बङ्क गरेर स्टेशनमा भेला भयौँ हामी । युरोलाइन बसमा यात्रा त्यसपछि शान्त समुन्द्रमाथि चिप्लदै चिप्लिदै जर्मनीको किनार ।

फेरि सँगै आएको उही बसबाट जर्मनीको चौडा सडकमा गतिमान यात्रा । त्यस साँझ बर्लिनमा पुग्दा राति भइसकेको थियो । युथ होस्टेलको ठूलो कोठामा लहरै राखिएका खण्ड खण्ड भएका खाटमा थकित ज्यानलाई पल्टाइदिएर एकछिन गफियौँ हामी । जति थाके पनि नयाँ ठाउँ नयाँ विछ्यौना के निन्द्रा लाग्नु !

१० / १५ जना विभिन्न देशका परदेशी बास बसेको त्यो कोठामा ग्रिकबाट डब्लूटीओको विरोध प्रदर्शनमा भाग लिन हिडेको मेरो खाट छिमेकी केटोले परिचय गर्दै भन्यो – तिम्रो देशको नाम सुनेको छु मैले । अबेर राति ढोका खोल्दै एउटी निग्रो केटी काँधमा गिटार र हातमा पानीको बोतल बोकेर भित्र पसी ।श्यामसुन्दर अनुहार र चम्किला दातहरु । उ अर्को खाट छिमेकी अहो !

अर्थात पल्लो छेउको ३ – ४ खण्ड भएको खाटको बुइगल तलामा ऊ र अर्को लहरको खाटको बुइगलमा म ।खाटको तल्लो र अझ तल्लो तलामा साथीहरु र अरु नचिनेका मानिसहरु ।

‘हाइ गाइज् कहाँबाट हो तिमीहरु ? उ आएर गिटार थन्क्याई र गफिन थाली । मैले भने – बिभिन्न देशबाट आएका छौ र हामी चाही नेपालबाट । यू मिन नेपल्स ? होइन होइन ! इन्डिया र चीनको बीचमा एउटा सुन्दर देश छ – त्यहाँबाट । – बर्लिन चाहि किन आएको नि ? – वीकेन्डको छुट्टीमा घुम्नको लागि । – अनि कहाँ कहाँ घुम्छौ त ? मैले कुनै ठोस योजना नभएको र हिटलरको सङ्ग्रहालय पनि घुम्न चाहेको कुरा गरेपछि उ झर्केिन थाली – ‘ त्यो कुनै राम्रो मानिस हो र हेर्नुपर्ने भन्दै ।

मैले हिटलर राम्रो भनेको होइन जर्मनीको इतिहास हेर्न खोजेको भनेँ ।लामो वादविवाद र तर्कहरु यसरी भए मानौ हामी चुनावको मुखमा विपरित पार्टीका कार्यकर्ता हौँ । मेरा सहयात्री विवाद सुनेर मुसुमुसु हाँसिरहे । कचपल्टिएको निद भयो । त्यति धेरै मानिसहरु कोही आइरेको छ कोही गइरहेको ।कोही पढिरहेको । भोलिपल्टको साँझ उ अलि छिटो कोठामा फर्की । कहाँ कहाँ घुम्यौ त ? मैले वर्लिनको पर्खाल ,विश्वयूद्धले घाइते भएको चर्च र त्यहाँका केही प्रसिद्ध स्थलको नाम लिएँ ।

उसको हातभरि हिटलरसँग सम्वन्धित सङ्ग्रहालय , प्रवेश शुल्क र त्यहाँ पुग्ने रुटसहितका सूचना भएका ब्रोसरहरु थिए । ति सबै मेरो हातमा थमाउदै उसले भनी – मलाई तिम्रो कुरा ठिकै लाग्यो । बितिसकेको खराब इतिहास हो तर त्यसलाई बुझ्न पनि हेर्नु त पर्छ नै । त्यति टाढाबाट आएको छौ – घुम न । हामी मित्रवत् भयौँ । फरासिली ऊ आफ्नो कुरा नसोधे पनि भन्थी – म चिली बाट भाग्य अजमाउन आएको । तीन महिना देखि बर्लिनमा छु ।

दिनभरि जागिरको खोजीमा यताउति बरालिन्छु ।यो महँगो शहर छ तर अहिलेसम्म चलेको छ। जागीर यहाँ नेभेटे के गर्छौ ? सायद अर्को शहर जान्छु – उ मजाले हाँसी । एकछिनमा भनी – ” भोलि त मेरो अन्तरवार्ता छ। काम पाएँभने केही समय बस्छु अनि अर्को शहर जान्छु पर्सी म तिमीलाई घुमाइदिन्छु सबै ठाउँहरु । मन लागेको ठाउँ हेरिहाल । ठाउँ होस् कि मानिस छुट्योभने छुटिजान्छ । मैले यही कोठामा भेटेका कति मानिसहरु कहाँ कहाँ पुगिसके होलान् ।”

तर सोमबार विहान त कोपेनहेगन पुग्न थियो !मानिस भनेको चरा कहाँ हो र ! दुइ रात बसेर – हिड्यौ हामी फिरन्तेहरु । तर हो रहेछ – उसले भनेजस्तै मानिस होस् वा ठाउँ छुट्यो भने छुटिजान्छ । अर्कोपल्ट दुइ तीन हप्ता जर्मनीकै म्युनिख शहरमा बसेर फर्किएँ म । तर फेरि बर्लिन पुग्न कहाँ अनुकुल हुनु – त्यो त छुटिगयो अर्कोपल्ट पनि !

( रमेश क्षितिज बरिष्ठ कवि तथा नेपाल सरकारका सहसचिव तथा हाल जिल्ला प्रशासन कार्यालय सिन्धुलिका प्रमुख जिल्ला अधिकारी हुनुहुन्छ )



प्रतिक्रिया दिनुहोस !