५ जेष्ठ २०८१, शनिबार

वीरगञ्जका सामुदायिक विद्यालयमा विद्यार्थी आकर्षित

प्रकाशित मिति :  15 April, 2022 12:42 pm


वीरगञ्ज । वीरगञ्ज महानगरपालिकामा सञ्चालित सामुदायिक विद्यालयमा पछिल्लो पटक विद्यार्थीको रोजाइ बन्दै गएका छ । मधेस प्रदेशको एकमात्र महानगरपालिकामा जनप्रतिनिधिले कार्यभार सम्हालेसँगै यस्ता विद्यालयको शैक्षिक गुणस्तर माथि उठेको हो । पछिल्लो समय सामुदायिक विद्यालयप्रति विद्यार्थीको आकर्षण त वढेको छ नै अभिभावकको समेत पहिलो रोजाइ बन्दै गएको छ ।

विद्यालयको पूर्वाधारको विकाससँगै अङ्ग्रेजी माध्यमबाट समेत शिक्षण सिकाइ थालिएपछि विद्यार्थीको सङ्ख्या ह्वात्तै बढेको जनाइएको छ । महानगरपालिकाको शैक्षिक प्रशासन महाशाखा प्रमुख अरविन्द लाल कर्णले पछिल्लो समय सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर माथि उठेको दाबी गरे । महानगरपालिकाका ३२ वडामा ९० वटा समुदायिक र १८८ वटा संस्थागत विद्यालय सञ्चालित रहेका छ भने समुदायिक विद्यालयमा हाल ४१ हजार ९६४ र संस्थागतमा ३४ हजार ९२४ जना विद्यार्थी अध्ययनरत छन् ।

स्थानीय तहमा आफू निर्वाचित भई आएपछि खस्किँदो अवस्थामा रहेको सामुदायिक विद्यलायको भौतिक पूर्वाधार तथा शैक्षिक गुणस्तरमा सुधारका लागि धेरै प्रयास गरेको महानगर प्रमुख विजयकुमार सरावगीले जानकारी दिनुभयो ।

उनले भने“ विद्यलाय भवन, छात्रछात्राका लागि छुट्टछुट्टै शौचालय, शुद्ध खानेपानी, कम्युटर प्रयोगशाला, पुस्तकालय, विज्ञान प्रयोगशाला, सेतो बोर्डको व्यवस्थादेखि डिजिटल मध्यमबाट पठनपाठनको व्यवस्था गरिएको छ । ”

उनले शिक्षकलाई विद्यालयमा नियमित बनाउन डिजिटल हाजिरी, कक्षा सञ्चालन भए नभएको महानगरपालिकाबाट निगरानी गर्न सबै विद्यलायमा सिसी टिभी जडान, कक्षा १ देखि ३ सम्म सबै विद्यालयमा अनिवार्यरुपमा अङ्ग्रेजी माध्यमबाट शिक्षण सिकाइ र आठ विद्यालयमा कक्षा ६ देखि १२ सम्म अङ्ग्रेजी माध्यमबाट शिक्षण सिकाइ सुरु गरिएको जानकारी दिए ।

महानगरपालिकाभित्र सञ्चालित रहेका सामुदायिक विद्यालयमा पुस्तकालय, इ–लाइब्रेरी, कम्प्युटर प्रयोगशाला, विज्ञान प्रयोशाला, खानेपानी, निःशुल्क सेनेटरी प्याड, आवश्यक कक्षा कोठासहित खेल मैदानको व्यस्थापनमा महानगरपालिकाले काम गर्दै आएको महागरपालिकाका प्रमुख प्रशासकीय अधिकृत निश्चिल राज पाण्डेले दिए।

संस्थागत विद्यालय छाडी सामुदायिक विद्यालयमा भर्ना हुन आउने विद्यार्थीको सङ्ख्या धेरै भएपछि वीरगञ्जको श्रीनृसिंह माध्यमिक विद्यालय र त्रीजुद्ध महावीरप्रसाद रघुवीर राम प्राविधिक माध्यमिक विद्यालयले सूचना टाँस गरी थप विद्यार्थी अध्ययन गराउन नसकिने जनाएको छ ।

सामुदायिक विद्यालयमा रहेका दक्ष शिक्षकबाट गुणस्तरीय शिक्षा, अनुशासन र स्थानीय तहले आवश्यक सबै पूर्वाधार निर्माण गरेपछि सामुदायिक विद्यालयप्रति अभिभावक र विद्यार्थीको आर्कषण बढ्दै गएको त्रिजुद्ध माविका प्रधानाध्यापक हरेन्द्रप्रसाद कुर्मीले बताए । उनले केही वर्ष अगाडि एक हजार ५०० को हराहारीमा विद्यार्थी सङ्ख्या रहेको सो विद्यालयमा विद्यार्थीको सङ्ख्या हाल तीन हजार ४७० पुगेपछि बाध्य भएर थप विद्यार्थीलाई अध्ययन गराउन नसकिएको प्रअ कुर्मीले बताए।

महानगरपालिकाको शैक्षिक प्रशासन महाशाखाका अनुसार २०७६ सालमा सामुदायिक विद्यालयतर्फ ३६ हजार ३२९ र संस्थागत विद्यालयतर्फ ३० हजार ६०० विद्यार्थी भर्ना रहेका थिए भने २०७८ सालमा आएर उक्त सङ्ख्या सामुदायिकतर्फ ४१ हजार ९६४ र संस्थागततर्फ ३४ हजार ९२४ तथ्याङ्क रहेको देखिन्छ ।

महानगरपालिकाभित्र रहेको एकमात्र कन्या (छात्रा) विद्यालयको जीर्ण भइसकेको भवनलाई महानगरपालिकाले मर्मतसम्भार गराई रंग रोग गराएपछि शिक्षण सिकाइमा राम्रो प्रभाव परेको सुन्दरमल रामकुमार कन्या विद्यालयकी प्रधानाध्यापक अनिता साहले जानकारी दिए ।

उनले पहिले कन्या ९छात्रा० का लागि मात्र विद्यालय भए पनि पुरुष शिक्षकसमेतले अध्ययन अध्यापन गराउँदै आएकामा पछिल्लो समय विद्यालयलाई पूर्णरुपले महिला शिक्षकले नै सञ्चालन गरेपछि छात्राको पठनपाठनमा थप सहजता भएको बताए ।

पछिल्लो समय महानगरपालिकाभित्रका सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरमा राम्रो सुधार भएको नागरिक समाजका अगुवा एवं अधिवक्ता पन्नालाल गुप्ताले जानकारी दिए ।

उनले वीरगञ्जको त्रिजुद्ध मावि, माइस्थान विद्यापिठ, श्रीनृसिंह मावि, सिद्धार्थ माविलगायतका धेरै विद्यालयको शिक्षाको गुणस्तरमा सुधार भएपछि गरिबका छोराछोरीले गुणस्तरीय शिक्षा पाएको बताए ।

सामुदायिक विद्यालयको गुणस्तरमा सुधार ल्याउन महानगरपालिकाले पछिल्लो चार वर्षमा रु २१ करोड रुपैयाँभन्दा बढीको आर्थिक लगानी गरेको जनाएको छ । महानगरपालिकाले विद्यालयमा कक्षाकोठा, पुस्तकालय, विज्ञान प्रयोगशाला, लाइब्रेरी, इलाइब्रेरी, सिसिटिभी, शुद्ध खानेपानीलगायतमा पूर्वाधारको विकासमा पछिलो चार वर्षमा रु २१ करोड ५९ लाख १२ हजार खर्च गरेको वीरगञ्ज महानगरपालिकाको शहरी पूर्वाधार महाशाखाका प्रमुख राजेश चौरसियाले जानकारी दिए।

उनले आर्थिक वर्ष २०७५/०७६ मा रु पाँच करोड ५१ लाख, २०७६/०७७ मा रु चार करोड २४ लाख, २०७७/०७८ मा रु पाँच करोड ४७ लाख र आर्थिक वर्ष २०७८/०७९ मा हालसम्म रु छ करोड ३६ लाखभन्दा बढी रकम खर्च गरिसकेको जानकारी दिए । रासस



प्रतिक्रिया दिनुहोस !