२४ बैशाख २०८१, सोमबार

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा १४ अर्ब घोटाला भएको छः पूर्व डीआईजी खरेल

प्रकाशित मिति :  18 April, 2022 8:02 am


पोखरा। नेपाल सुशासन पार्टीका केन्द्रीय अध्यक्ष तथा पूर्व डीआईजी रमेश प्रसाद खरेलले पोखरामा निर्माणाधिन पोखरा अन्तराष्ट्रिय विमानस्थलमा १४ अर्व घोटला भएको बताएका छन् ।

आइतबार पोखरामा आयोजित पार्टीको चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष खरेलले भने, “९ अर्बमा निर्माण सम्पन्न हुनुपर्ने विमानस्थलको लागत २३ अर्ब पु-याएर लोभीपापीहरुले १४ अर्ब बाँडेर खाएका छन्।”

यस्ता प्रकारका आर्थिक अनियमितताहरु दर्जनाैं आयोजनाहरुमा भैरहेको उनको दाबी छ । उनले मुलुकलाई व्यक्तिगत स्वार्थ र कुशासनले खोक्रो बनाएको बताए ।

मुलुक क्रमशः चोर, पकेटमार र संगठित डाकाहरुको पञ्जामा पुगेको खरेलले बताए । “यसबाट उन्मुक्तिका लागि नेपाल सुशासन पार्टी वैकल्पिक शक्तिका रुपमा आएको छ,” उनले भने।

आगामी निर्वाचनमा देश लुट्ने संगठित अपराधिहरुलाई मत नदिन अध्यक्ष खरेलले अपिल गरेका छन्। नयाँ पुस्ताको भविष्य उज्जवल बनाउनका साथै देश बचाउनका लागि आफूहरु अहोरात्र खटिने उनको प्रतिवद्धता छ।

मुलुकको अर्थतन्त्र इतिहास कै कमजोर अवस्थामा पुगेको बताउदै उनले यसका कारण राष्ट्रिय अस्तित्व नै संकटमा परेको विश्लेषण गरे।

कार्यक्रममा नेपाल सुशासन पार्टीका उपाध्यक्ष गोविन्दराज पोखरेलले वैकल्पिक राजनीतिका लागि आफूहरु मैदानमा उत्रिएको बताए । पार्टीका महासचिव गोविन्द गिरीले परिवर्तनका लागि मन र मत दुवै परिवर्तन आवश्यक रहेको बताए ।

पार्टीका केन्द्रीय सदस्य भुवन लामिछानेले राजनीतिक कुशासनका कारण नागरिक भए पनि अनागरिक जस्तो गरि बाँच्नु परेको बताए । अर्का केन्द्रीय सदस्य शम्भु सुस्केराले विवेकको मत विवेकपुर्ण ढंगले प्रदान गर्न आग्रह गरे ।

पार्टीका गोरखा जिल्ला अध्यक्ष टोप गुरुङ्ले पुराना भनिएका पार्टीहरुले देशलाई कंगाल बनाएको आरोप लगाउदै सुशासनका लागि आफ्नो पार्टीलाई रोज्न अपिल गरे । आगामी निर्वाचनका लागि निर्वाचन आयोगले पार्टीलाई मकैको घोगा चुनाव चिन्ह प्रदान गरेको छ ।



प्रतिक्रिया दिनुहोस !