१२ श्रावण २०८१, शनिबार

कोरोना भाईरस १ सय ६८ देशमा फैलियो, युवापनि जोखिममा रहेको विश्व स्वास्थ्य संगठनको चेतावनी

प्रकाशित मिति :  21 March, 2020 9:40 am


एजेन्सी,८ चैत ।  विश्व स्वास्थ्य संगठनले कोरोना भाईरसबाट युवापनि जोखिममा रहेको भन्दै चेतावनी दिएको छ । कोरोना भाइरसको संक्रमणबाट रोग प्रतिरोधात्मक क्षमता कमजोर भएका, प्रौढ तथा वृद्ध मात्र नभएर युवा पनि जोखिममा रहेको भन्दै होस पुर्‍याउन विश्व स्वास्थ्य संगठनले चेतावनी दिएको हो ।

अहिलेसम्म यसको अधिक चपेटमा वृद्ध उमेका व्यक्ति परेको देखिएपनि युवा पनि यसको खतराबाट मुक्त नरहेको भन्दै होसियार अपनाउन डब्ल्यूएचओले सुझाव दिएको छ।

विश्व स्वास्थ्य संगठनका महानिर्देशक डा. टेडरोज आध्यनोम गेब्रेयेसोसले भनेका छन्,‘युवाका लागि मेरो सन्देश छ। तपाईंहरू जोखिममुक्त हुनुहुन्न। यो भाइरस तपाईंलाई हप्तौंका लागि अस्पताल पुर्‍याउन सक्छ र ज्यान पनि लिन सक्छ। तपाईं बिरामी नभए पनि कसैका लागि जीवन र मरणको कारक बन्न सक्नुहुन्छ।’

अहिलेसम्मका रिपोर्टले वृद्ध उमेरका व्यक्तिलाई मात्रै कोरोना संक्रमणको उच्च जोखिम रहेको देखाएकाले युवाले लापरबाही गर्न थालेपछि विश्व स्वास्थ्य संगठनले यस्तो चेतावनी दिएको हो।

कोभिड १९ का कारण अहिलेसम्म विश्वभर ११ हजारभन्दा बढी मानिसको मृत्यु भइसकेको छ र अढाई लाखभन्दा बढी संक्रमित भइसकेको तथ्याङ्क सार्वजनिक भएको छ । विश्वभर १ सय ६८ देशमा कोरोना भाईरस फैलिसकेको छ । जसमध्य सबैभन्दा धेरै चीन, इटली, ईरान, स्पेन, दक्षिण कोरिया र जर्मनी बढी प्रभावित भएका छन् । इटलीको अवस्था थप भयावह बनेको छ । भारतमा मात्रै ४ जनाको ज्यान गईसकेको छ ।



प्रतिक्रिया दिनुहोस !