२५ श्रावण २०७९, बुधबार

असार १५ को महत्व र सान्दर्भिकता

प्रकाशित मिति :  29 June, 2022 7:44 am


बाबुराम थापा 

उप महासचिव, अखिल नेपाल किसान महासंघ

पृष्ठभूमि

मानो खाएर मुरी उब्जाउने महिना मानिने असारको मध्य दिन आज असार १५ धान दिवसका साथै रोपाई जात्राको रुपमा मनाउने गरिन्छ । आजको दिन खेतमा धान रोपाई संगै आपसमा हिलो छ्यापाछ्याप गरेर मनोरञ्जन गर्ने तथा दही चिउरा खाने गरिन्छ । कामको चटारोले थकित भएका किसानहरुलाई दही र चिउराले शक्ति र शीतलता प्राप्त हुने विश्वास छ । त्यही रोपाइँमा लाग्दाको खुशी र आनन्द अभिव्यक्त गर्ने एक सांकेतिक र सांस्कृतिक पर्व असार १५ बनेको छ । कृषिकर्म अथवा खेतीपाती बाहेक अन्य पेशा व्यवसायमा रहेका मानिसहरुले पनि आज दही चिउरा खाई असार १५ मनाउँछन् । गत साल “धान उत्पादनमा वृद्धि ः खाद्य सुरक्षा,आत्मनिर्भरता र समृद्धि” को नाराका साथ १८ औं राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सव मनाइएको थियो भने यस वर्ष “धानबालीमा जैविक विविधताको उपयोग,आयात प्रतिस्थापनमा सहयोग” भन्ने नाराका साथ १९ औं धान दिवस देशभर उत्साह,उमगं र खुसियालीपूर्वक मनाइँदैछ । 

हाम्रो समाजमा खाद्यान्नहरु मध्ये प्रतिष्ठासँग जोडिने खाद्यान्न धान नै हो । घरमा पाहुना आउँदा पाहुनाको सेवा सत्कार धानको भात,खिर वा धानको रोटीले गर्ने प्रचलन ग्रामिण क्षेत्रमा अहिले पनि उत्तिकै छ । धानको उत्पादन कम हुने वा अन्य कारणले चामल घरमा सकिएको भएतापनि पैंचो मागेर वा नजिकको पसलबाट चाम खरिद गरेर पाहुनालाई धानको परिकार खुवाउने प्रचलन छ । यी र यस्तै कारणले गर्दा तथा सबैभन्दा मिठोमानि खाने खाद्यान्न भएको कारणले पनि धानको उत्पादन बढाउन किसानहरु लागिपरिहेका छन् । 

राष्ट्रिय धान दिवसका सन्दर्भमा अखिल नेपाल किसान महासंघले नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री कमरेड के.पी शर्मा ओलीको प्रमुख आतिथ्यमा भक्तपुरको सिरुटारमा धान रोपाई विशेष कार्यक्रम गर्दैछ भने महासंघका मातहत विभिन्न कमिटीहरुले आजको दिनलाई राष्ट्रिय धान उत्सवको रुपमा मनाउँदै रासायनिक मलको अभाव र मुल्यवृद्धिका सन्दर्भमा सरकारको ध्यानाकर्षण समेत गरिरहेका छन् ।

धानको महत्व र असार १५

हिन्दु धर्मको विकासक्रमका साथै नेपालको संस्कृति र सभ्यतामा धानको अत्यन्त महत्व छ । हाम्रो लागि धान केवल खाना वा उपभोग्य बस्तु मात्र नभएर यो संस्कृति, पहिचान र इतिहाससँग गाँसिएको विषय हो । वेद लेखिनुपूर्व धान खेति गरिएको वेदमा उल्लेख छ । साली, ब्रिहि, सुका, सिमी र चुद्रा धान्य गरी पाँच जातका धानबारे ऋगवेदमा उल्लेख छ । यसैगरी कपिलवस्तु जिल्लाको ऐतिहासिक ठाउँ तिलौराकोट राज्यमा राजा शुद्धोधनले सुनको हलोले खेत जोतेर धान रोप्ने प्रचलन चलाएको किम्वदन्ती छ । राजा शुद्धोधनले जोतेको खेतमा रोपाई महोत्सव हुँदै आएको छ । 

नेपाली समाजका हरेक सामाजिक एवम् सांस्कृतिक कार्यहरुमा धानको मान्यता रहने हुँदा हाम्रो समाजमा धान अभिन्न रूपमा स्थापित भइसकेको छ । हरेक नेपालीको जन्मदेखि मृत्यु सम्मका प्रत्येक कर्ममा धानको प्रयोग अपरिहार्य हुन्छ भने बर्षभरी मनाइने विभिन्न चाडपर्वहरुमा समेत यसकै वर्चस्व रहन्छ । नेपालको हिमाल पहाड तराई सबै भूगोलमा चामलको उत्तिकै महत्व र वैभव रहेको छ । 

मकै,कोदो वा फापरको ढिंडो खानुभन्दा धानको भात खानु प्रतिष्ठाको कुरा रहेको छ । हाम्रा चाडपर्व धान विना अधुरा छन् । दशैको टिका र जमराको साथै अतिथि सत्कारको भोजन धान विना सम्भव छैन । रोदी,रोपाइ जात्रा, न्वागी, असार पन्ध्र धान—चामल विशेष पर्व नै हुन् । यी त यसको महिमा र हाम्रो जीवनसँग गासिएका केही उदाहरण मात्र हुन् । धान नेपालको प्रमुख खाद्यान्न बाली हो । कुल ग्राहस्थ उत्पादनको ७ प्रतिशत,कृषिमा २० प्रतिशत र कुल खाद्यान्न उत्पादनको ५५ प्रतिशत धान वालीले योगदान पुर्याएको छ । नेपालमा करिब १४ लाख हेक्टर जमिनमा ४७ लाख मेट्रिकटन धान उत्पादन हुने गरेको छ । तराईमा करिब ७० प्रतिशत, पहाडी क्षेत्रमा २६ प्रतिशत र हिमाली क्षेत्रमा ४ प्रतिशत जमिनमा धानबाली लगाएको कुरा कृषि विभागको तथ्याङ्कमा उल्लेख छ ।

धानको बहुआयामिक महत्वलाई उजागर गरी यसको उत्पादन तथा उत्पादकत्व वृद्धि तथा व्यवसायीकरणलाई प्रवद्र्धन गर्ने उद्देश्यका साथ वि.स.२०६१ मा अन्तराष्ट्रिय धान वर्ष  मनाउने सन्दर्भ पारेर नेपालमा असार १५ गतेलाई राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सव मनाउने घोषणा भई यस दिनलाई राष्ट्रिय दिवसको रुपमा मनाउन थालनी गरिएको हो । 

धान दिवसको अवसरमा देशका विभिन्न स्थानमा नेपाल सरकारमा सम्वद्ध निकायहरु,राजनीतिक दल सम्वद्ध किसान संघ संगठनहरु र विभिन्न सामाजिक संघ संस्थाहरुले किसानका खेत खेतमा गएर रोपाई गरी महोत्सव मनाउने चलन बढदो छ । 

धान उत्पादनको वर्तमान अवस्था

कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार चालू आवमा ५१ लाख ३० हजार मेट्रिक टन धान उत्पादन भएको छ । गत आवमा ५६ लाख २१ हजार मेट्रिक टन धान उत्पादन भएको थियो । आव २०७६/७७ मा ५५ लाख ५० हजार ८७८, आव ०७५/०७६ मा ५६ लाख १० हजार र ०७४/७५ मा ५१ लाख ५१ हजार ९२५ मेट्रिक टन धान उत्पादन भएको थियो । उत्पादनमा थोरै तलमाथि हुँदा पनि पछिल्लो पाँच वर्षमा धान उत्पादन ५५ लाख मेटनमाथि हुनुले नेपालको अर्थतन्त्रलाई पनि टेवा पुगिरहेको छ । 

हामी सँग धान उत्पादन र व्यापारको गर्विलो विगत रहेको छ । सन् १९६१ मा भारतले ७ लाख ३६ हजार मेट्रिक टन र वंगलादेशले ४ लाख ९१ हजार मेट्रिक टन चामल निर्यात गरेको बेला नेपालले २ लाख ८९ हजार मेट्रिक टन चामल निर्यात गरेको थियो । त्यो बेलाको मुल्य ४ करोड ३० लाख अमेरिकी डलर थियो । सन् १९८५ को मध्यसम्म घट्दो क्रममा थियो,१९८५ मा नेपालले १ करोड ३० लाख अमेरिकी डलर बराबरको ५९ हजार मेट्रिक टन मात्र चामल निर्यात गरेको थियो । यसरी हेर्दा २४ वर्षको अन्तरालमा हाम्रो धान निर्यातको अवस्था निकै चिन्ताजनक हिसावले घटको पाइन्छ ।

सन् १९९०को दशकको सुरुवातसँगै नेपालको धानचामलको उत्पादनमा व्यापक गिरावट आयोे र नेपाल निर्यातक देशबाट आयातकर्ता बन्न पुग्यो । जबकि त्यसको केहि अगाडी देखि भारत र भियतनामले आफ्नो अवस्थामा लगातार सुधार गर्दै गएर वर्तमानका पहिलो र तेस्रो ठुला चामल निर्यातक देश बनेका छन् । सन् २०१५ मा भारतले ६ अर्व ३८ करोड अमेरिकी डलर बराबरको १ करोड ९ लाख मेट्रिक टन र भियतनामले २ अर्ब ८४ करोड अमेरिकी डलर बराबरको ६८ लाख ३२ हजार मेट्रि«क टन चामल निर्यात गरेको छन् । सन् १९८० को दशकसम्म धानचामल निर्यात गर्दै आएको नेपाल को सन् १९९० को दशक पछि पूर्णरुपमा धानचामलको आयातकर्ता बनेको छ । जसका कारण ठुलो परिमाणमा नेपाली मुद्रा बाहिरिने क्रम प्रत्येक वर्ष बढिरहेको तथ्यलाई नकार्न सकिने अवस्था छैन् ।

नेपालको कुल खेती योग्य जमिन मध्ये ३५ प्रतिशतमा धान खेति गरिन्छ । देशको कुल ग्राहस्थ उत्पादनमा धानकोे योगदान सवैभन्दा बढी छ । तर दुभाग्य हामी औसतमा लगभग ३० अरब भन्दा बढिको धान वा चामल प्रतिबर्ष आयात गरिरहेका छौं । नेपालमा धान खेतिका प्रमुख समस्याहरुमा विशेषज्ञको अभाव, तराइको भुराजनीति, मुल्य, भण्डारण र प्रशोधनमा समस्या, आकासेपानीमा भरपर्नुपर्ने बाध्यता, विउ, मल र अन्य आपूर्तिको अभाव, युवाको विदेश पलायन, जग्गाको खण्डीकरण, परम्परागत खेतिको अभ्यास, अनुसन्धानको कमी, अनुसन्धान र विकासमा तादम्यता नहुनु, जलवायु परिवर्तन आदि पर्दछन् ।

युवा जनशक्ति अवसरको खाजीमा विदेश तथा देशका विभिन्न शहरमा पलायन हुनु, सिमित व्यक्तिका हातमा धेरै उर्वर जमिनको स्वामित्व रहनु, जग्गालाई उत्पादनमा भन्दा व्यवसायीक नाफामा हेरी अनावश्यक खण्डीकरण गरी खेतीयोग्य भूमि घडेरीमा परिणत गर्नु, आकासे खेतीमा निर्भर, सिँचाइको व्यवस्था नहुनु, उन्नत जातका बीउवीजन तथा मलखाद तथा अनुदानको राम्रो व्यवस्था नहुँदा धानको उत्पादनमा असर परेको विज्ञहरुले बताएका छन् । 

धानको उत्पादन वृद्धिमा लिनुपर्ने पहल कदमी तथा उत्पादन वृद्धिका सम्भावनाहरु

त्यसैगरी यस दिनलाई किसान अधिकार दिवशको रुपमा पनि मनाइरहदा के हाम्रो देशका बहुसंख्यक सानाकिसानका अधिकार प्राप्त भएका छन् या छैनन् यसतर्फ पनि ध्यानाकर्षण गर्न जरुरी छ । किसान अधिकार र खाद्य अधिकार वीना आधारभुत मानव अधिकार, आर्थिक तथा सामाजिक सांस्कृतिक अधिकार, महिला अधिकार तथा ग्रामीण जनसमुदायको अधिकार संरक्षण नहुने भएकोले यस दिनलाई मनाइरहदा किसानको अधिकार प्राप्त गर्ने संघर्षको रुपमा समेत यसलाई लिन आवश्यक छ ।

धानको उत्पादकत्व वृद्धिका लागि गुणस्तरीय मल, उन्नत बीउ, भरपर्दो सिचाई सुविधा तथा उपयुक्त प्राविधिक सेवाको सुनिश्चतता तथा रोजगारीका अवसरहरुको सिर्जना गर्न धानको क्षेत्रलाई उद्योगसँग आबाद्ध गरी आत्मनिर्भरता र समृद्धि हासिल गर्ने राष्ट्रिय आकाक्षां हासिल गर्न तीनै तहका सरकारहरुबाट भइरहेको रणनैतिक प्रयासलाई थप प्रभावकारी वनाउन जरुरी छ । यसका लागि बिगतका बर्षहरु देखिने धान बालीमा अनुसन्धान विकास लाई सुविधा विस्तार मसिना धान प्रबद्र्धन र चैते धान प्रबद्र्धन सहुलियत दरमा गुणस्तरीय बीउ तथा खादको व्यवस्था प्रविधि विस्तार, सार्वजनिक वितरण प्रणालीमा सुधार, न्यूनतम समर्थन मूल्यको कार्यान्वयन बाली बीमाको प्रवद्र्धन,जलबायु मंत्री प्रविधिको विकास, धान उत्पादन तथा बजारीकरणमा निजी तथा सहकारी क्षेत्रको संलग्नता, बाँझो जमिनको सदुपयोगजस्ता कार्यक्रमहरु अझै पनि प्रभावकारी ढंगले सचालन हुन सकिरहेका छैनन् ।

हाम्रो देशको विडम्वना नै भन्नु पर्दछ कि अनुसन्धान र प्रसार सधैं किसानहरु र उपभोक्ताको आवश्यकता भन्दा पृथक ढंगले अगाडी बढिरहेको छ । बजारमा कुन धानको माग बढिछ सो कुरालाई वास्ता गरिएन भने किसानले भनेको मुल्य पाउन सक्दैन् र किसानमा नैराश्यता सृजना हुन्छ र उत्पादनमा कमि हुँदै जाने खतरा बढदछ् । बजारले खोजेको जातको धान उत्पादन गर्दा राम्रो मुल्य पाउँछ र त्यो कुरा किसानको मुनाफासंग गएर जोडिएको हुन्छ । त्यसैले बजारको माग अनुसारको जातको पहिचान र विकास अनि त्यसको प्रसार हामीले शुरुवातमा नै गर्नुपर्ने हुन्छ ।

केही दशक अघि धान निर्यातको इतिहास बोकेको मुलुक हाल हरेक वर्ष उत्पादन÷उत्पादकत्व वृद्धि भए पनि आवश्यक चामलको आपूर्तिका लागि विदेशबाट हुने आयातमा निर्भर रहनु परेको यथार्थ विद्धमान छ । पर्याप्त परिमाणमा उत्पादन नभई धान चामलमा परनिर्भरता हुनुमा बढ्दो जनसंख्या बृद्धिको तुलनामा धान उत्पादनको वृद्धि दर कम हुनु, खेतीयोग्य जमिन खण्डिकरण तथा घडेरिकरण,श्रम शक्तिको अभाव, सिंचाई, भण्डारण तथा बजार पूर्वाधार प्रयाप्त नुहुनु आदि प्रमुख कारणहरु हुन् । 

रैथाने धानका जातहरू जलवायु अनुकूलित हुनुका साथै पोषणयुक्त एवम् रोग कीरा सहन सक्ने भएकाले खाद्य तथा पोषण सुरक्षामा धान बालीका जैविक विविधताको अत्यन्त महत्वपूर्ण भूमिका रहेको हुन्छ । साथै नेपालमा पाइने स्थानीय धानका जातहरु उच्च उत्पादन दिने उन्नत तथा वर्णशंकर जातहरूको विकासका लागि उपयोग गर्न सकेमा निश्चय पनि धान चामलको बढ्दो आयातलाई न्यूनीकरण गर्नमा सहयोगी हुन सक्ने देखिन्छ । साथै तराई, पहाड र हिमाली क्षेत्रमा पाइने धानका रैथाने जातहरूको प्रवद्र्धन गरी उत्पादन विविधिकरण तथा उपयोगमा प्राथमिकता दिन सके यि जातहरुले धान चामलको उपलब्धता बढाई आयात प्रतिस्थापनमा सहयोग गर्नुका साथै खाद्य तथा पोषण सुरक्षामा टेवा पुयाउन सक्ने देखिन्छ 

निश्कर्ष

नेपालमा धान उत्पादनको लागि अहिलेको अवस्थामा उपलब्ध प्रविधिहरुको प्रयोग,मलखादको उचित सदुपयोग तथा उपलब्ध जातहरुको प्रयोगबाट नेपालको धानको उत्पादकत्व बढाउन सकिन्छ । त्यसको लागि समयमा मल बीउको उपलब्धता, प्रविधि प्रसारमा दक्ष र समर्पित कृषि कार्यकर्ताहरु र यो कार्यलाई अभियानको रुपमा लैजाने कृषि कर्मसंग जोडिएका समाजका सबै अगुवा नागरिकहरु लाग्नुपर्ने हुन्छ । 

असार १५ मनाइरहदा हामीले गम्भिर भएर धानको उत्पादन बढाई हाम्रो परनिर्भरता घटाउने विषयमा नसोची मात्र औपचारिकतामा रमायौं भने यसले हामीलाई गलत दिशामा लग्ने छ । धान दिवशले धान बचाऔं अभियानलाई बलियो बनाउनुका साथै किसान अधिकार सुनिश्चित गर्ने तथा रासायनिक मल, विउ,किटनाशक औषधी तथा कृषि प्रविधि लगायतका किसानका तात्कालिक समस्या समाधान गर्दै खाद्य सम्प्रभुता प्राप्त गर्ने र कृषिको रुपान्तरण गर्ने लगायतका पक्षमा ध्यान आकृष्ट गर्न सफल रहोस् । असार १५, धान दिवस र किसान अधिकार दिवसको हार्दिक शुभकामना । 

जय किसान !

जय धान दिवस !



प्रतिक्रिया दिनुहोस !