सङ्गीतमार्फत विश्व शान्तिको सन्देश फैलाउँदै ‘म्यूजिक फर पीस’ कार्यक्रम सम्पन्न
काठमाडौं । विश्व शान्तिको सन्देश प्रवाह गर्ने उद्देश्यका साथ ‘जर्नलिस्ट फर जस्टिस नेपाल’द्वारा “म्यूजिक फर पीस (शान्तिका लागि सङ्गीत)” कार्यक्रम भव्य रूपमा सम्पन्न गरिएको छ। शुक्रबार कमलपोखरीस्थित रसियन हाउसमा आयोजित उक्त कार्यक्रममा सङ्गीतका विभिन्न धुनमार्फत विश्व शान्तिको कामना गरिएको थियो।
कार्यक्रममार्फत शान्तिका अग्रदूत गौतम बुद्धको देश नेपालबाट विश्व समुदायलाई युद्धभन्दा संवाद र वार्तामार्फत शान्तिको मार्ग खोज्नुपर्ने सन्देश प्रवाह गरिएको संस्थाका अध्यक्ष टिकाराम खड्काले बताए। उनका अनुसार कार्यक्रमको उद्देश्य केवल मनोरञ्जन नभई सांस्कृतिक माध्यमबाट शान्तिको बलियो सन्देश दिनु रहेको हो।
कार्यक्रममा रसियन दूतावासकी काउन्सिलर तथा रसियन हाउसकी निर्देशक अनास्तासिया खोखलोभाको सन्देश सुनाउँदै रसियन हाउसका कार्यक्रम व्यवस्थापक सन्तोष कार्कीले सङ्गीतलाई सांस्कृतिक संवादको प्रभावकारी माध्यमका रूपमा व्याख्या गरे।
उनले रूस–नेपाल कूटनीतिक सम्बन्धको ७०औं वर्षगाँठको सन्दर्भमा कार्यक्रमलाई साझा मूल्य, सांस्कृतिक विविधता, एकता र शान्तिको प्रतीकका रूपमा लिएको उल्लेख गरे। साथै, सन् २०२६ लाई रूसले ‘स्वदेशी जनजाति एकताको वर्ष’ घोषणा गरेको विषय पनि उनले कार्यक्रममा उठाएका थिए।
कार्यक्रममा बाल तथा किशोर वाद्यवादकहरू अध्याय भण्डारी, प्रतीक डंगोल र अनुष गन्धर्वले ‘रेशम फिरिरी’, ‘फर्की आऊ’ र ‘फूलको आँखामा’ जस्ता लोकप्रिय गीतका धुन प्रस्तुत गरेका थिए। त्यस्तै, गायक तथा संगीतकार सागर अधिकारी (शरद)ले ‘अहंकार टुटोस’ गीतमार्फत शान्तिको सन्देश दिएका थिए भने बाल कलाकार आध्या रेग्मीले कथक नृत्य प्रस्तुत गरेकी थिइन्।
यसैबीच, माओवादी जनयुद्धको उद्गम थलो रुकुम पूर्वबाट आएका ९ जना किशोरीहरूले ‘फूलको आँखामा फूलै संसार’ गीतमा आधारित शान्ति सन्देशमूलक भिडियो सामग्री प्रस्तुत गरेका थिए, जसले दर्शकको ध्यान आकर्षित गरेको थियो।
कार्यक्रममा रसियन हाउसका तर्फबाट साकानुस बनियानले प्रमुख अतिथिका रूपमा सहभागिता जनाएकी थिइन्। यस्ता सांस्कृतिक तथा सन्देशमूलक कार्यक्रमहरूले विश्वभर शान्तिको सन्देश फैलाउन सकारात्मक भूमिका खेल्ने विश्वास व्यक्त गरिएको छ।








