भक्तपुरमा अप्टिमिष्ट इन्टरनेसनलको एसिया डिस्ट्रिक्ट अधिवेशन, बालबालिकाको क्षमता विकासमा जोड
भक्तपुर । अप्टिमिष्ट इन्टरनेसनलको एसिया क्षेत्रीय अधिवेशन–२०२६ भक्तपुरमा आयोजना गरिएको छ। बालबालिकाको सामाजिक तथा मनोवैज्ञानिक विकाससँगै उनीहरूको क्षमता अभिवृद्धि तथा सामाजिक सेवाका क्षेत्रमा संस्थाले गर्दै आएका गतिविधि र आगामी कार्यदिशाबारे छलफल गर्न अधिवेशन आयोजना गरिएको हो।
अधिवेशनमा सहभागी वक्ताहरूले बालबालिकाको क्षमता पहिचान गरी उनीहरूको व्यक्तित्व विकास, सकारात्मक सोच र नेतृत्व क्षमताको विकासमा जोड दिनुपर्ने बताएका छन्। सामाजिक सेवामार्फत समाजमा सकारात्मक परिवर्तन ल्याउन निरन्तर सक्रिय हुनुपर्नेमा समेत वक्ताहरूले जोड दिएका छन्।
कार्यक्रममा सांसद रुकेश रञ्जितले अप्टिमिष्ट इन्टरनेसनलले नेपालमा विभिन्न सामाजिक तथा सेवामूलक काम गर्दै आएको बताए। उनले समाजसेवा गर्ने कामलाई निरन्तरता दिनुपर्ने उल्लेख गर्दै सेवा गर्न कहिल्यै छोड्न नहुने धारणा राखे।
अप्टिमिष्ट इन्टरनेसनलले गर्दै आएका गतिविधिले देशको सामाजिक विकासमा योगदान पुर्याइरहेको र बालबालिकाको क्षमता विकासका लागि संस्थाले सञ्चालन गर्ने कार्यक्रम महत्वपूर्ण रहेको रञ्जितले बताए। बालबालिकालाई सकारात्मक वातावरण र अवसर प्रदान गर्न सके उनीहरूले भविष्यमा समाजका लागि महत्वपूर्ण योगदान दिन सक्ने उनको भनाइ थियो।
अधिवेशनकी निर्देशक रिना श्रेष्ठले अप्टिमिष्ट इन्टरनेसनलको उद्देश्य बालबालिकाको सामाजिक तथा मनोवैज्ञानिक विकासमा सहयोग पुर्याउनुका साथै उनीहरूमा रहेको क्षमताको थप विकास गर्नु रहेको बताइन्।
बालबालिकालाई आफ्नो क्षमता पहिचान गर्ने र त्यसलाई प्रयोग गर्ने अवसर दिनुपर्ने बताउँदै श्रेष्ठले अधिवेशनले नयाँ सोच र योजनाका साथ काम गर्ने वातावरण निर्माण गर्ने विश्वास व्यक्त गरिन्। विभिन्न क्षेत्रका सदस्य तथा प्रतिनिधिबीच अनुभव आदानप्रदानमार्फत आगामी दिनमा नयाँ तथा प्रभावकारी कार्यक्रम सञ्चालन गर्न सकिने उनको भनाइ थियो।
कार्यक्रममा गभर्नर प्रतापबहादुर थापाले पनि अप्टिमिष्ट इन्टरनेसनलले बालबालिका तथा समाजको विकासका लागि गर्दै आएको भूमिकाबारे धारणा राखेका थिए।
त्यस्तै, अधिवेशनका की–नोट वक्ता टुमराज कोइरालाले बालबालिकाको क्षमता विकास, सकारात्मक सोच र नेतृत्व निर्माणसँग सम्बन्धित विषयमा प्रस्तुति दिएका थिए।
कार्यक्रममा फर्स्ट लेडी तारा सापकोटा लगायतको समेत सहभागिता रहेको थियो। अधिवेशनमा अप्टिमिष्ट इन्टरनेसनलका आगामी कार्यक्रम, सामाजिक सेवाका नयाँ क्षेत्र तथा बालबालिका र युवाको क्षमता विकासमा केन्द्रित गतिविधिका विषयमा छलफल गरिएको आयोजकले जनाएको छ।









