१२ श्रावण २०८१, शनिबार

कोरोनाभाइरस विरुद्ध युद्धस्तरमा लड्न विश्व समुदायलाई चीनका राष्ट्रपतिको आग्रह

प्रकाशित मिति :  27 March, 2020 4:19 pm


(200326) — BEIJING, March 26, 2020 (Xinhua) — Chinese President Xi Jinping attends the G20 Extraordinary Virtual Leaders’ Summit on COVID-19 via video link in Beijing, capital of China, March 26, 2020. (Xinhua/Li Xueren)

एजेन्सी, १४ चैत ।

चिनियाँ राष्ट्रपति सी चिनफिङले विश्वभर महामारीका रुपमा फैलिएको कोरोनाभाइरस विरुद्ध युद्धस्तरमा लड्न आग्रह गरेका छन् ।

विश्वका प्रमुख २० वटा औद्योगिक राष्ट्रहरुको समूह जी–२० को शिखर बैठकलाई भिडियो कन्फ्रेन्समार्फत सम्बोधन गर्दै राष्ट्रपति सीले कोरोनाभाइरसका कारण सिर्जित स्वास्थ्य एवं आर्थिक समस्यासँग जुध्न बहुपक्षीय सहयोग आवश्यक रहेकामा जोड दिएका छन् ।

राष्ट्रपति सीले भने,‘अन्तर्राष्ट्रिय समुदायले आफ्नो आत्मविश्वासलाई अझ सुदृढ गर्नु आवश्यक छ, एकताबद्ध भएर कार्य गर्नु पर्दछ र मिलेर नै समस्या सुल्झाउनु पर्दछ ।’ प्रमुख संक्रामक रोगहरु सबैका साझा शत्रु भन्दै राष्ट्रपति सीले कोविड–१९ जस्ता महामारीलाई विश्वले नै परास्त गरी मानवजातिको रक्षा गर्नु सबैको कर्तव्य भएकोमा जोड दिए ।

विश्वभर ठूलो संख्यामा मानिसहरु कोविड–१९ को महामारीका कारण संक्रमित भएका र मृतकको संख्या बढ्दै गएको अवस्थामा जी–२० को शिखर बैठक हो । यसपटकको बैठकलाई लाइभस्ट्रिमिङ मार्फत् संचालन गरिएको थियो ।

जोन हप्किन्स विश्वविद्यालयका अनुसार कोरोना भाइरसका कारण विश्वभर पाँच लाखभन्दा बढी मानिस संक्रमित भइसकेका छन् भन् २४ हजारभन्दा बढीको ज्यान गइसकेको छ ।

राष्ट्रपति सीले सूचना आदानप्रदान गर्न, औषधि, खोप र महामारी नियन्त्रण सम्बन्धी पारस्परिक सहयोगलाई थप सुदृढ गर्न तथा संक्रमण रोक्न अन्तरदेशीय सीमा बन्द गर्न तत्कालै स्वास्थ्य मन्त्रीहरुको बैठक आयोजना गर्नु पर्नेमा जोड दिए । यसवर्ष जी–२० को अध्यक्षता साउदी अरेबियाले गरेको छ ।

शिखर बैठकमा सम्बोधन गर्दै विश्व स्वास्थ्य संगठनका कार्यकारी निर्देशक टेड्रोस अधानोम घेब्रेससले विश्वभर चुनौतीको रुपमा देखिएको कोरोनाभाइरसलाई नियन्त्रणमा ल्याउने उपायको खोजीमा आफ्नो संस्थाले प्रयास जारी राखेको बताए ।
बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले महामारी नियन्त्रणमा वैज्ञानिक खोज सम्बन्धी गठबन्धनलाई बेलायतका तर्फबाट थप रकम उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरे । उनले कोरोनाभाइरसको खोप निर्माणका लागि बेलायत सरकारले ३ करोड २ लाख डलर प्रदान गर्ने घोषणा   गरे ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने, ‘हामीले समस्याका बारेमा छलफल गरेका छौं । आशा छ, यो समस्या लामो अवधिसम्म रहने छैन । संयुक्तराज्य अमेरिकाले कोरोना भाइरसको संक्रमण रोक्नका लागि मित्रहरु र साझेदारहरुसँग मिलेर कार्य गरिरहेको छ ।’

रुसका राष्ट्रपति भ्लादिमिर पुटिन, जर्मन चान्सलर एन्जेला मर्केल, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, जापानका प्रधानमन्त्री शिन्जो आबे र क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रुडो समेतका नेताहरुले कोरोनाभाइरसको त्रासदीबाट आमजनतालाई बचाउन हालसम्म गरिएका प्रयासका बारेमा चर्चा गर्दै विश्व अर्थतन्त्र र जनस्वास्थ्यलाई ठीक ठाउँमा ल्याउन थप साझा प्रयास आवश्यक छ भन्नेमा जोड दिएका छन् ।



प्रतिक्रिया दिनुहोस !