१३ बैशाख २०८१, बिहिबार

सीमाना र निर्माण क्षेत्रमा फसेकाहरुको उद्धार गर्ने प्रदेश-५ सरकारको निर्णय,३ ठाँउमा प्रयोगशाला स्थापना हुने

प्रकाशित मिति :  30 March, 2020 7:35 pm


रुपन्देही, १७ चैत । प्रदेश ५ सरकारले सीमा क्षेत्रमा अलपत्र परेका व्यक्तिलाई सम्बन्धित जिल्लामा समूह बनाइ पठाउने निर्णय गरेको छ ।

आज बसेको प्रदेश ५ को मन्त्रिपरिषद् बैठकले सीमा क्षेत्रमा अलपत्र परेकालाइ सम्बन्धित जिल्लामा पठाइ स्थानीय तहमा क्वारेन्टाइनमा राख्ने र खानपिनको व्यवस्था गर्ने निर्णय गरेको हो । त्यस्तै बैठकले निमार्ण क्षेत्रमा काम गर्ने मजदुरलाई घर पठाउने व्यवस्था गर्ने निर्णय गर्दै त्यसका लागि यातायातका साधनको पासको व्यवस्था प्रमुख जिल्ला अधिकारीले मिलाउने, सम्बन्धित निमार्ण कम्पनीले गाडीको व्यवस्था गर्न भनेको   छ ।

मन्त्रिपरिषद् बैठकले एम्बुलेन्स चालकका लागि १२ वटै जिल्ला प्रशासन कार्यालयमार्फत पिपिइ पठाउने निर्णय गरेको छ । एम्बुलेन्स चालकलाई प्रमुख जिल्ला अधिकारीले पिपिई उपलब्ध गराउने छन् । प्रदेश ५ मा कोरोना परीक्षणका लागि तीन वटा प्रयोगशाला स्थापना गर्ने निर्णय समेत भएको छ । जसअन्तर्गत भैरहवाको गहुँ बाली अनुसन्धान केन्द्र परिसर, दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा र नेपालगञ्जको भेरी अस्पतालमा कोरोना परीक्षण प्रयोगशाला स्थापना गर्ने निर्णय गरेको मुख्यमन्त्रीका प्रेस संयोजक शेरबहादुर केसीले जानकारी दिएका   छन् । तत्काल प्रयोगशाला स्थापना गरी कोरोना भाइरसको परीक्षण शुरु हुने छ । प्रयोगशालाका लागि ३ जना विज्ञ केन्द्रबाट खटाइसकिएको छ ।

यस्तै खेती स्याहार्ने बेला भएकाले कृषि प्रयोजनमा प्रयोग हुने थ्रेसर, कम्बाइन मेशिन लगायत गाउँ र नगरपालिकाभित्र कार्यकारी अधिकृतले तथा जिल्लाभित्र र बाहिरका लागि प्रमुख जिल्ला अधिकारीले पासको व्यवस्था मिलाउने पनि मन्त्रिपरिषद् बैठकले निर्णय गरेको छ ।

र, यो पनि……
‘इट्टा भट्टामा फसेका झण्डै १० हजार रोल्पाका मजदुरको खाद्यान्न र स्वास्थ्य सुरक्षा होस्’



प्रतिक्रिया दिनुहोस !