१३ बैशाख २०८१, बिहिबार

रोमाञ्चक खेलमा घानालाई पराजित गर्दै पोर्चुगलको विजयी सुरुवात

प्रकाशित मिति :  25 November, 2022 12:30 am


काठमाडौं । कतारमा जारी फिफा विश्वकपमा पोर्चुगलले विजयी सुरुवात गरेको छ ।

विहीबार रंगशाला ९७४ मा समूह जी मा रहेका पोर्चुगल र घानाबीच भएको रोमाञ्चक खेलमा पोर्चुगलले घानामाथि ३-२ को जित निकालेको हो ।

पहिलो हाफमा गोलरहित रहेको खेलमा दोस्रो हाफ भने दुवै टोलीले आक्रमक खेल प्रस्तुत गरे । खेलको ६३ औं मिनेटमा क्रिस्टियानो रोनाल्डोले पेनाल्टीमार्फत गोल गर्दै पोर्चुगललाई सुरुवाती अग्रता दिलाए । गोलसँगै रोनाल्डो विश्वकपको पाँच संस्करणमा गोल गर्ने पहिलो खेलाडी पनि बने ।

तर पोर्चुगलको अग्रता लामो समय भने टिकेन । खेलमा पछि परेको आठ मिनेटमै कप्तान आन्द्रे आयुले घानाका लागि बराबरी गोल फर्काए ।

बराबरी भएको ५ मिनेटपछि पोर्चुगलले गोल गर्दै अग्रता लियो । ७८ औं मिनेटमा ब्रुनो फर्नान्डेसको पासलाई जोआओ फेलिक्सले गोलमा परिणत गरे।

अग्रता बनाएको पोर्चुगलले दोस्रो गोल गरेको दुई मिनेटमा नै अर्को गोल थप्यो । विश्वकपमा पहिलो खेल खेलेका राफाएल लिआओले मैदान छिरेको तीन मिनेटमै गोल गरे ।

८९ औं मिनेटमा घानाका ओस्मान बुकारीले गोल गर्दै खेल बराबरीमा ल्याउने संकेत गरेपनि बाकी समयमा गोल थप्न नसक्दा घानाले पराजय भोग्यो ।

यस जितसँगै पोर्चुगल समूह जी को शीर्षस्थानमा उक्लिएको छ । पोर्चुगलको ३ अंक हुँदा उरुग्वे र दक्षिण कोरियाको १-१ अंक छ ।



प्रतिक्रिया दिनुहोस !