६ जेष्ठ २०८१, आइतबार

लुम्बिनी स्टार नेपाल टी–२० को फाइनलमा

प्रकाशित मिति :  8 January, 2023 5:51 pm


काठमाडौं । लुम्बिनी अल स्टार नेपाल टी–२० क्रिकेट लिगको फाइनलमा प्रवेश गरेको छ । त्रिवि मैदान कीर्तिपुरमा आइतबार भएको पहिलो क्वालिफायर खेलमा जनकपुर रोयल्सलाई ६ रनले हराउँदै लुम्बिनी फाइनलमा प्रवेश गरेको हो ।

जीतका लागि लुम्बिनीले दिएको एक सय ४४ रनको लक्ष्य पछ्याएको जनकपुर निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा एक सय ३७ रन मात्र बनाउन सक्यो। जनकपुरका लागि शमिउल्लाह सिनवारिले सर्वाधिक ४५ रन को योगदान दिएपनि जीतका लागि प्रयाप्त भएन।

यस्तै पवन सर्राफले अविजित ३० रन, शराफुद्दिन अशरफले २४, राजेश फुामीले १३ र कप्तान ट्रेभोन ग्रिफिथले १० रनको योगदान दिए । बलिङमा लुम्बिनीका विपुल शर्मा, दीपेन्द्र सिंह ऐरी र सागर ढकालले दुई दुई विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको लुम्बिनीले २० ओभरमा आठ विकेटको क्षतिमा एक सय ४३ रन बनाएको थियो । लुम्बिनीका लागि ईशान पाण्डेले सर्वाधिक ३८ रन बनाए । अनिल शाहले २४, विपुल शर्माले २०, श्याड्ली भानले अविजित १७ र लाहिरु मिलान्थाले १६ रन बनाए ।

बलिङमा जनकपुरका जितेन्द्र मुखिया, असन प्रियरन्जन र सोमपाल कामीले दुई दुई विकेट लिए ।

प्रतियोगितामा ६ वटा फ्रेन्चाईज टोलीको सहभागिता रहेको थियो । फार वेस्ट युनाइटेड र पोखरा एभेन्जर्स प्रतियोगिताबाट बाहिरिएका छन् । पुस २७ गतेसम्म चल्ने प्रतियोगिताको विजेताले ५५ लाख र उपविजेताले ३० लाख रुपियाँ पुरस्कार पाउनेछन् । यसैगरी तेस्रो हुनेले १० लाख र चौथो हुनेले पाँच लाख रुपियाँ पुरस्कार प्राप्त गर्नेछन् ।



प्रतिक्रिया दिनुहोस !