रियललाई हराउँदै बार्सिलोनाले जित्यो सुपर कप

काठमाडौं । रियल मड्रिडलाई हराउँदै बार्सिलोनाले सुपर कपको उपाधि हात पारेको छ । चीर प्रतिद्वन्द्वी रियलमाथि ३-१ को सहज जितसँगै बार्सिलोनाले स्पेनिस सुपर कपको उपाधि उचालेको छ ।
साउदी अरबमा भएको खेलमा बार्सिनोलाले रियललाई दबाबमा राखेको थियो । खेलको ३३औं मिनेटमा १८ वर्षीय गाभीले रोवर्ट लेवान्डोस्कीको पासमा गोल गरेपछि बार्सिलोनाले सुरुवाती अग्रता बनाएको हो ।
पहिलो हाफको अन्तिम समयमा गाभीको पासमा लेवान्डोस्कीले गोल गरी बार्सिलोनाले दोहोरो अग्रता बनायाे । दोस्रो हाफमा पेड्रीले थप एक गोल गार्दै खेल ३-० को अवस्थामा पुर्याए ।
रियल मड्रिडका लागि करिम बेन्जेमाले इन्जुरी समयमा एक गोल फर्काए पनि जितका लागि पर्याप्त हुन सकेन्।
यो जितसँगै बार्सिलोनाले अपराजित खेलको शृंखला ९ पुर्याएको छ । क्लबका पूर्वखेलाडी जाभीले प्रशिक्षक सम्हालेयता बार्सिलोनाले पहिलो उपाधि जितेको हो ।