‘केपी ओली कप २०२३’ को ट्रफी र गीत सार्वजनिक
काठमाडाैँ । नेकपा (एमाले) निकट राष्ट्रिय युवा संघको आयोजनामा केपी ओली कप २०२३ राष्ट्रिय फुटबल प्रतियोगिताको प्रतियोगिताको ट्रफी अनावरण र अफिसियल गीत सार्वजनिक भएको छ ।
‘केपी ओली कप २०२३’ राष्ट्रिय फुटबल प्रतियोगिताको उद्घाटन फागुन ११ गते एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने भएको हो । फुटबल प्रतियोगिता १७ गतेसम्म चल्ने र फाइनल प्रतियोगिता सोही दिन हुने राष्ट्रिय युवा संघका अध्यक्ष किरण पौडेलले जानकारी दिए । प्रतियोगितामा ८ वटा ‘ए’ डिभिजनका समूहहरु सहभागि हुने उनले बताए ।
प्रतियोगितामा प्रथम हुने समूहलाई १० लाख रुपैयाँ, रनरअपलाई ५ लाख रुपैयाँ, बेस्ट प्लेयरलाई १ लाख रुपैयाँ, बेस्ट गोलकिपरलाई १ लाख रुपैयाँ, प्रत्येक म्यान अफ द म्याचलाई १५ हजार रुपैयाँ र प्रत्येक म्याचको विजेता टिमलाई २५ हजार रुपैयाँको दरले पुरस्कार राशी राखिएको आयोजकले जनाएको छ ।
अध्यक्ष पौडेलले केपी ओली राष्ट्रिय युवा संघको संस्थापक अध्यक्ष भएकाले उनकाे सम्मान गर्न र समकालिन नेताहरुमध्ये ओलीले खेलकुद बुझेको र चासो राख्ने भएकाले उनकाे नाममा फुटबल प्रतियोगिता गरिएको बताए ।
पौडेलले प्रतियोगिताको उद्घाटन खेल क्षेत्रका कुनै शिखर पुरुषले गर्ने बताएका छन् । प्रतियोगिताका लागि १ करोड ५० लाख रुपैयाँ बराबरको स्टमेट रहेको आयोजकले जनाएकाे छ ।








