२० मंसिर २०८२, शनिबार

पिएसजीको जितमा एमबाप्पेको कीर्तिमानी गोल

प्रकाशित मिति :  5 March, 2023 9:02 am


काठमाडौँ । फ्रान्सेली फरवार्ड केलियन एमबाप्पेको कीर्तिमानी गोल मद्दतमा पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च लिग वानमा जित हात पारेको छ । शनिबार राति भएको खेलमा पीएसजीले नान्टेसलाई ४-२ गोल अन्तरले हराएको हो ।

पिएसजीले घरेलु मैदानमा भएको खेलमा लियोनेल मेस्सी, एमबाप्पे र डानिलो पेरेइराले गोल गरे भने एक गोल उपहार पाएको थियो । नान्टेसका लागि लुडोभिक ब्लास र इग्नाटिएस गनागोले गोल फर्काए पनि जितका लागि पर्याप्त भएन ।

खेलको १२औं मिनेटमा मेस्सीको गोलबाट पिएसजीले अग्रता लिएको थियो । १७औँ मिनेटमा जाओविन हड्जामले आत्मघाती गोल गरेपछि पिएसजी खेलमा २–० ले अघि बढ्यो । ३१औँ मिनेटमा लुडोभिक ब्लास्टले गोल गर्दै खेललाई २–१ को स्थितिमा ल्याए । ३८औँ मिनेटमा गनागोले गोल गर्दै खेललाई २–२ गोलको बराबरीमा ल्याए ।

खेलको ६०औँ मिनेटमा डानिलोले गोल गर्दै पिएसजीलाई ३–२ को अग्रता दिलाए । इन्ज्युरी समयको थप गरिएको दोस्रो मिनेटमा एमबाप्पेले गोल गर्दै पिएसजीलाई ४–२ को रोमाञ्चक जित दिलाए ।

गोलसँगै एमबाप्पे पिएसजीको सर्वाधिक गोलकर्ता बनेका छन् । उनले पिएसजीका लागि २०१ गोल गर्दै एडिन्सन काभानीलाई पछि पारेका हुन् ।



प्रतिक्रिया दिनुहोस !