६ जेष्ठ २०८१, आइतबार

आईपीएलमा गुजरातको विजयी सुरुआत

प्रकाशित मिति :  1 April, 2023 8:00 am


काठमाडौँ । साविक विजेता गुजरात टाइटन्सले इन्डियन प्रिमयर लिग (आईपीएल) को १६औं संस्करणको उद्घाटन खेलमा चेन्नाई सुपर किंग्सलाई पराजित गर्दै विजयी सुरुआत गरेको छ ।

गुजरातले ४ पटकको च्याम्पियन चेन्नई सुपर किंग्सलाई रोमाञ्चक भिडन्तमा ५ विकेटले पराजित गरेको हो । चेन्नईमाथि गुजरातको यो लगातार तेस्रो जित हो।

शुक्रबार घरेलु मैदान नरेन्द्र मोदी स्टेडियममा भएको खेलमा चेन्नाईले दिएको १७८ रनको लक्ष्य गुजरातले १९.२ ओभरमा ५ विकेट गुमाएर पूरा गर्‍यो ।

टस हारेर ब्याटिङ गर्दै चेन्नईले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १७८ रन बनाएको थियो । चेन्नईका ओपनर ऋतुराज गायकवाडले सर्वाधिक ९२ रन बनाए । मोइन अलीले २३ रन बनाए । मध्यक्रममा शिवम दुबेले १९ र कप्तान महेन्द्र सिंह धोनीले अविजित १४ रन बनाए । गुजरातका लागि मोहम्मद सामी, राशिद खान र अल्जारी जोसेफले २–२ विकेट लिए ।

जवाफी इनिङ्समा गुजरातका ओपनर शुभमन गिलले ३६ बलमा ६३ रन बनाए । विजय शंकरले २७ रनको योगदान दिदा ऋद्धिमान साहाले २५ रन बनाएका थिए ।

चेन्नईका राजवर्धन हेङ्गारगेकरले ४ ओभरमा ३६ रन दिएर ३ विकेट लिए । रविन्द्र जडेजा र तुषार देशपाण्डेले एक–एक विकेट लिए ।



प्रतिक्रिया दिनुहोस !