६ बैशाख २०८१, बिहिबार

बागमती प्रदेश सरकारको प्रस्ताव : प्रदेश र स्थानीय सरकारले आफ्ना नागरिक लैजान पहल गरौं

प्रकाशित मिति :  17 April, 2020 11:01 am


काठमाडौं, ५ वैशाख ।

श्रमिक तथा न्यून आय भएका व्यक्तिहरु हिँडेरै घर जान थालेपछि बागमती प्रदेश सरकारले नयाँ प्रस्ताव अगाडी सारेको छ ।

बागमती प्रदेशका सामाजिक विकास मन्त्री युवराज दुलालले अब स्थानीय तह र प्रदेश सरकारले आफ्ना नागरिक लैजाने गरि पहल गर्नुपर्नेमा जोड दिएका छन् ।

उनले बागमती प्रदेश सरकारले यसबारे संघीय सरकारसँग प्रयत्न जारी राखेको जानकारी गराएका छन् ।

समाजिक सञ्जाल फेसबुक मार्फत मन्त्री दुलालले केन्द्र सरकारले प्रदेश सरकारलाई आफ्नो प्रदेशको नागरिक लान स्विकृती दिने, प्रदेशका सरकारले आफ्ना प्रदेशका नागरिकलाई प्रारम्भिक स्वास्थ्य परीक्षण पश्चात चीनबाट विद्यार्थी ल्याएको झै व्यवस्थापन गरि सुरक्षित तरिकाले सम्बन्धित पालिका पुर्याउन सकिने बताएका छन् ।

यसरी पुराईएका नागरिकलाई सबै पालिकाले प्रारम्भिक स्वास्थ्य परिक्षण गरी क्वारेण्टाईनमा राख्ने व्यवस्था गर्ने प्रस्ताव मन्त्री दुलालको छ ।

त्यस्तै उनले सुरक्षाको ऊपाय अवलम्बन गरि कृषि उत्पादनका काम जारी राख्ने र सबैले लकडाउनलाई एक जटील परिस्थितीको रुपमा स्विकार गरिसकेपछि विभिन्न कष्ट व्यहोर्नू पर्ने कुरालाइ पनि आत्मसात गर्नुपर्नेमा जोड दिएका छन् ।

समाजिक विकासमन्त्री दुलालले भनेका छन्,‘हिड्न दिने गाडिमा गुड्न नदिने यो लकडाउन भएन । यस तरिकाले एकातिर लामो दुरी तय गरि हिड्नेलाई त दुःख पिडा भएकै छ, देख्नेलाई पनि उत्तिकै हेर्न नसक्ने गरि पिडानुभूति भएको छ र संक्रमणको जोखिम झनै बढेको छ ।’

उनले राहत वितरण सही ढंगले नगर्दा अहिले समस्या आएको समेत टिप्पणी गरेका छन् ।

उनले भनेका छन्,‘आम नागरिकलाई जहाँ छौ त्यहीँ बस भनियो र दैनिक ज्यालादारी श्रमिक, अति बिपन्न र कोठा भाडामा बसेका र सहयोगको आवश्यकता भएका बिध्यार्थी आदीलाई स्थानीय सरकार मार्फत राहतको व्यबस्थ गर्ने भनियो, त्यो व्यबस्थित कार्यान्वयन भएन ।’

उनले सरकारमा लकडाउनबीच पनि केही उपाए गरि पठाउन छलफल चलेपनि तीनै तहको सरकार तयार नभएको र केन्द्र सरकारसमेत विवादमा फसेको स्मरण गराएका छन् ।

अहिले पनि गाँउगाँउमा बाहिरबाट कोही नआइदियोस भन्ने आवाज रहेको भन्दै कतिपय वडाका जनप्रतिनीधि सहितको सहभगितामा सयौं ठाऊमा बाटो अबरुद्ध पारिएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् ।

मन्त्री दुलालले आफ्नो परिवारको सदस्य रातारात ल्याऊने अनि अरुलाइ बाटो छेक्ने मानसिकता पनि बाकी नै रहेका टिप्पणी गरेका छन् ।

उनले कोरोना संक्रमणको उच्च जोखिममा रहेको र सबै परिस्थितीको सामना गरि संक्रमणबाट बच्न र बचाउन सबै जिम्मेवार बन्नुपर्नेमा जोड दिएका छन् ।



प्रतिक्रिया दिनुहोस !