१६ चैत्र २०८०, शुक्रबार

गण्डकी प्रदेशस्तरीय परम्परागत ठेलो प्रतियोगितामा पर्वतको कब्जा

प्रकाशित मिति :  3 June, 2023 3:10 pm


म्याग्दी । गण्डकी प्रदेशस्तरीय परम्परागत ठेलो प्रतियोगितामा पर्वत जिल्लाले कब्जा जमाएको छ ।

प्रदेश खेलकुद परिषद गण्डकीको आयोजनामा म्याग्दीको बेनीमा आज सम्पन्न प्रतियोगितामा पर्वतले क्लिन स्विप गर्दै कब्जा जमाएको हो । पर्वतले पहिलो, दोश्रो र तेश्रो तिनै स्थानमा कव्जा जमाएको छ ।

पर्वतका किरण विकले १४.०१ मिटरको दुरी ठेलो फाल्दै पहिलो स्थान प्राप्त गर्न सफल भए । उनले नगद रु २५ हजारका साथमा शिल्ड, मेडल र प्रमाणपत्र हात पारे ।

त्यस्तै पर्वतका राजेन्द्र हमालले १३.९७ मिटरको दुरी फाल्दै दोश्रो भए भने निशान बोहराले १२.८२ मिटर ठेलो फाल्दै तेश्रो स्थानमा चित्त बुझाए ।

दोश्रो भएका हमालले नगद रु १५ हजार र तेश्रो भएका बोहराले नगद १० हजारका साथमा ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गरेको प्रतियोगिताका संयोजक योगेन्द्र शेरचनले जानकारी दिए ।

प्रतियोगितामा म्याग्दी, बागलुङ र पर्वतका गरी १२ खेलाडीहरुको सहभागिता रहेको थियो । लमजुङ र कास्कीले प्रतियोगितामा सहभागिता जनाउने बताए पनि अन्तिम समयमा अनुपस्थित रहेका थिए ।

प्रतियोगितामा बिजेता खेलाडीहरुलाई बेनी नगरपालिकाका प्रमुख सुरज केसी, प्रदेश खेलकुद परिषदकी सदस्य चन्द्रा घले गुरुङ, जिल्ला खेलकुद म्याग्दीका अध्यक्ष दिनेश केसी लगायतले नगद, शिल्ड, मेडल तथा प्रमाणपत्र वितरण गरेका थिए ।

ठेलो प्रतियोगिता गण्डकी प्रदेशमा परम्पराको रुपमा खेलिदै आएकोमा सो को सरक्षण, प्रवर्द्धन र प्रचार प्रसारका लागि आयोजना गरिएको परिषदका सदस्य समेत रहेका शेरचनले बताए ।



प्रतिक्रिया दिनुहोस !