१५ चैत्र २०८०, बिहिबार

अध्यादेश ल्याएकोप्रति कांग्रेसको टिप्पणी : आपत्तिजनक कदम, गैह्र जिम्मेवार प्रवृत्ति

प्रकाशित मिति :  20 April, 2020 8:56 pm


काठमाण्डौं,८ वैशाख ।

सरकारले अध्यादेश ल्याएपछि नेपाली कांग्रेसले त्यसलाई आपत्तिजनक कदम, गैह्र जिम्मेवार प्रवृत्ति भएको टिप्पणी गरेको छ ।

पार्टी सभापति शेरबहादुर देउवाले आज विज्ञप्ति जारी गर्दै कारोना संक्रमणसँग पुरै विश्व एक भएर लडिरहेका बेला सरकारले ल्याएको संबैधानिक परिषद् सम्बन्धि र राजनैतिक दलसम्बन्धि दुई अध्यादेश जारी गरेको भन्दै आपत्ति जनाएका छन् ।

सभापति देउवाको विज्ञप्तिमा भनिएको छ,‘कोरोनाको संक्रमणसंग पुरै विश्व एक भएर लडिरहेको छ ।

यस्तो बेलामा नेपाल सरकारले आज संवैधानिक परिषद सम्बन्धि र राजनैतिक दल सम्बन्धि दुई अध्यादेश जे जारी गरेको छ त्यसले सरकार नागरिकको जीवन रक्षाका लागि गम्भीर नभएको पुष्टि भएको छ । दुबै अध्यादेशप्रति नेपाली कांग्रेसको गम्भीर असहमति छ ।’

कोरोनाको संक्रमणबाट नेपाल र नेपालीको रक्षा गर्ने यो घडीमा सबै खाले विमति र आग्रहहरुबाट माथि उठेर नेपाली कांग्रेसले सरकारलाई हरसंभव सघाउंदै आएको समेत सभापति देउवाले स्मरण गराएका छन् ।

उनले भनेका छन्,‘यतिबेलाको प्रधान दायित्व भनेको कोरोना र भोकमरीबाट नेपाली जनतालाई जोगाउनु हो । यो घडी सत्ताको उन्माद या खेल प्रस्तुत गर्नु भनेको नेपाली इतिहासकै सबैभन्दा दुःखद घटना हो र यो ‘बेमौसमी बांसुरी’ हो ।’

संविधान निर्माण गरिंदा राजनैतिक स्थिरताको बन्दोबस्त गरिएको र संवैधानिक नियुक्तिहरुमा साझा स्वामित्वको परिकल्पना गरिएको भन्दै कांग्रेसले नागरिक जीवन संकटमा रहेको घडीमा सरकारले चालेको कदम र राष्ट्रपतिबाट हतारमा गरिएको प्रमाणीकरणले यी सबै ब्यवस्थालाई हठात उलंघन गरेको टिप्पणी गरको छ ।

कांग्रेसले भनेको छ,‘ नेपाली कांग्रेस अलोकतान्त्रिक एवं संविधानको मर्म विपरीतका विधेयक तत्काल फिर्ता लिन माग गर्दै अन्य सबै खेल भन्दा माथि उठेर कोरोनाबाट जनताको जीवन रक्षामा सम्पूर्ण रुपले केन्द्रित हुन सरकारलाई अपील गर्दछ ।’



प्रतिक्रिया दिनुहोस !