१६ बैशाख २०८१, आइतबार

वैदेशिक रोजगारसम्बन्धी अभिमुखीकरण तालिम प्रभावकारी बनाइँदै

प्रकाशित मिति :  20 August, 2023 2:14 pm


काठमाडौँ । वैदेशिक रोजगार बोर्डले वैदेशिक रोजगारीमा जानेहरूलाई दिने अभिमुखीकरण तालिम प्रभावकारी बनाउने भएको छ । वैदेशिक रोजगार बोर्डले वैदेशिक रोजगारमा जानेहरूले अभिमुखीकरण तालिम लिन अति आवश्यक रहेको भन्दै प्रभावकारी बनाउने गरी काम थालेको बताएको हो ।

वैदेशिक रोजगारमा जानेहरूलाई राज्यले दिने सेवा सुविधा र रोजगारीको लागि जाने देशका विषयमा जानकारी लिनको लागि विभिन्न अभिमुखीकरण तालिम केन्द्र तालिम दिने गरिएको छ । बोर्डले पछिल्लो समय अभिमुखीकरण दिने संस्थाहरूले प्रभावकारी रूपमा तालिम दिनुपर्ने जोड दिएको छ । बोर्डले तालिम केन्द्रहरूको अनुगमन समेत सुरु गरेको छ । बोर्डले विशेष गरी वैदेशिक रोजगारीमा जानेहरूले मानसिक तयारी,पासपोर्ट सुरक्षा,बीमा,श्रम स्वीकृति,स्वास्थ्य परीक्षण, सम्झौता पत्र, वैदेशिक रोजगार बोर्ड अन्तर्गतको कल्याणकारी कोष र वैदेशिक रोजगार बोर्डसँगको सहकार्यको विषयमा तालिम दिने गरेको छ ।

त्यसको लागि बोर्डले नै शुल्क दिने गरेको छ । वैदेशिक रोजगारीमा जानेहरूले मानसिक तयारी,पासपोर्ट सुरक्षा,विमा,श्रम स्वीकृति,स्वास्थ्य परीक्षण, सम्झौता पत्र,वैदेशिक रोजगार बोर्ड अन्तर्गतको कल्याणकारी कोष र वैदेशिक रोजगार बोर्डसँगको सहकार्यको विषयमा तालिम प्रभावकारी बनाएर वैदेशिक रोजगारीमा देखिने समस्या कम गर्ने उद्देश्य बोर्डको रहेको छ । बोर्डका कार्यकारी निर्देशक डा।द्वारिका उप्रेतीले काठमाडौँका केही अभिमुखीकरण तालिम केन्द्रहरूले तालिममा सहभागिता नभएकाहरूलाई दिन तालिम लिएको प्रमाणपत्र दिएको गुनासो आएको बताए ।

उनले तालिम केन्द्रहरूले अभिमुखीकरण तालिम नलिनेहरूलाई अवैधानिक रूपमा प्रमाण पत्र दिएको भन्ने कुरा आएकाले यसलाई अनुगमन गरी थप व्यवस्थित बनाउन लागिएको बताए । उप्रेतीले तालिममा सहभागी नभएकाहरूलाई समेत प्रमाण पत्र दिने संस्थाहरूलाई अनुगमन गरी कारबाही गरिने बताए ।

उनले बोर्डले विगतमा बनाएका मेट्रियलहरू बिक्री योग्य नभएको भन्दै कोष परिवर्तन गर्न लागेको पनि बताए । नेपालमा लिएर गएको तालिमभन्दा फरक तालिम विदेशमा हुने भएकाले नयाँ कोष मन्त्रालयमा बनेको उनको भनाइ छ । उनले वैदेशिक रोजगारीमा जानेहरूले लिने अभिमुखीकरण तालिमलाई अनलाइन र भौतिक रूपमा उपस्थित दुवै माध्यमबाट बनाउने गरी कार्यविधि परिवर्तन गर्न लागिएको पनि बताए ।

उनले कार्यविधि, ऐन, निर्देशिकामा परिवर्तनको लागि पूर्व सचिव पूर्णचन्द्र भट्टराईको संयोजकत्वमा ९ सदस्य समिति गठन भएको बताए । वैदेशिक रोजगारमा जानेलाई बीमा गरेर जाने विषयमा समेत थाहा नहुने अवस्था छ । महिला श्रमिकको लागि अभिमुखीकरण तालिमको लागि सरकारले सातसय रुपैयाँ दिन्छ भन्ने कुरा समेत थाहा नभएको अवस्था छ ।

बोर्डले यी र यस्ता विभिन्न विषयमा प्रभावकारी तालिम बनाउने कार्यविधि नै परिवर्तन गरेर जान लागेको छ । वैदेशिक रोजगारीमा जाने श्रमिकहरूले म्यानपावरमार्फत वैदेशिक रोजगार सम्बन्धी अभिमुखीकरण तालिमको लागि ७ सय रुपैयाँ तिर्ने गरेका छन् ।



प्रतिक्रिया दिनुहोस !