२५ बैशाख २०८१, मंगलबार

माल्दिभ्सलाई १३८ रनले पराजित गर्दै नेपाल क्वार्टरफाइनलमा

प्रकाशित मिति :  1 October, 2023 10:45 am


काठमाडौँ । माल्दिभ्सलाई १३८ रन पराजित गर्दै नेपाल १९औं एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

जेजियाङ युनिभर्सिटी अफ टेक्नोलोजी क्रिकेट फिल्डमा आइतबार भएको खेलमा माल्दिभ्सलाई हराउँदै नेपालले अन्तिम आठमा स्थान पक्का गरेको हो । समूह ‘ए’ को विजेता भन्दै नेपाल अन्तिम आठमा पुगेको हो।

नेपालले अब क्वाटरफाइनलमा भारत, श्रीलंका, पाकिस्तान, बंगलादेशर अफगानिस्तानमध्ये एक टिमसँग खेल्नेछ । यी पाँच टिम सीधै क्वाटरफाइनल पुगेका हुन् भने नेपालसँगै तीन टिम पहिलो चरण पार गरेर क्वाटरफाइनल पुग्नेछन् ।

नेपालले दिएको २१३ रनको लक्ष्य पछ्याएको माल्दिभ्स १९.४ ओभरमा सम्पुर्ण विकेट गुमाउदैँ ७४ रनमै अलआउट भयो । माल्दिभ्सका लागि मुएवियाथ अब्दुल घानीले सर्वाधिक ३६ र सिउस फरिदले १० रन बनाए भने अन्यले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

बलिङमा नेपालका अभिनास बोहराले ६ विकेट लिन सफल भए। उनले ३.४ ओभरमा ११ रन खर्चिएर ६ विकेट लिएका हुन्। त्यस्तै, सन्दीप लामिछाने, गुल्सन झा, सोमपाल कामी र कुशल भुर्तेलले १/१ विकेट लिए।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ७ विकेट गुमाएर २१२ रन बनाएको थियो । नेपालका लागि कप्तान रोहित पौडेलले २७ बल खेल्दै तीन छक्का र तीन चौका प्रहार गर्दै सर्वाधिक ५२ रन बनाए ।

कुशल मल्लले २० बलमा दुई छक्का र तीन चौका मद्दतमा नटआउट ४७ रनको योगदान दिदा कुशल भुर्तेल र गुलशन झाले समान ३५/३५ रन बनाए ।

बलिङतर्फ माल्दिभ्सका नाजवान स्माइलले तीन विकेट लिए । नसीर नाइल स्माइल, मोहम्मद म्युभान र थोलाल मोहम्मद रायाले एकरएक विकेट लिए ।



प्रतिक्रिया दिनुहोस !