११ मंसिर २०७९, आइतबार

कविताः प्रवृत्ति

प्रकाशित मिति :  29 April, 2020 8:07 pm


भ्रमको बिश्वास बोकेर बाँचिरहेका
यो कोलाहल लोकबाट टुसाएको छ अनेकौं
टेन्टाकल्स जस्ता छुद्र आत्मा

मसिना टीठ लाग्दो समय जोगाउँदै
उठेको छ यतिबेला इतिहास भत्काउने अजङ्गको कालो खण्ड ग्रास

नर्तकीको खोसिएको छ अर्ग्यानिक
कलाले सिर्जिएर उक्लिएको सुन्दर लय

अनेक नाम ,उपनाम र बेनाम टासेर छातिमा
टुक्रिएर खस्दैछ ढिलो ढिलो एउटा स्वाभिमान

अल्कत्रा निल्ने झुण्डहरु
सलबलाउदै छोएका छन् यहाँ अक्षुण्ण राष्ट्रियता

निमोठिएका छन् परदेश तिर पासपोर्ट थमाई
कलिला संभावना बोकि हिँडेका निर्दोष अनुहारहरू

अलग्गिएको छ सपनाको बाटो
चौबाटोमा आएर बर्तमान र निकट भविस्यको

स्वार्थका साइनो जोडेर
झूठोलाई पनि सत्यको अंश बाडिएको छ

बेइमानीको चक्रमा जेलेर निर्दोष
खोकिरहेको छ बेस्सरी चिप्लो आदर्श

पोखिएर स्खलित छ
मुटुबाट अन्तर मानवीय संवेदना
कहिँ भेटिदैन चोखो भूगोल
जुन सङ्सारले लेख्ने गिनिज बुकमा
गर्नु हुन्थ्यो लेखेर अद्दितिय उद्घोष

यतिबेला देखापरेको छ क्षितिजमा
चरक्क खसेका आँसुहरु
थिचेर हिडेका एउटा भयानक बिद्रोही

चौतारीमा उडिरहेको छ खासखुस
आफैंले भोगेर आएको चस्स अविस्मरणीय तानाबाना

यो समयले जर्जर दुःख हुर्काउदै
बाँचिरहेको छ
आजसम्म कुनै पनि हिसाबको जोड घटाऊ
नमिलाईकन बेप्रवाह

शायद ‘भर्चुअल’ दुनियाँमा
यस्तै परम्पराको निर्माण छ होला
प्रकृतिले दिएको ‘लेटेष्ट’ जिउने कला

जीवनमा जति लामो बाटो हिँडे पनि
पृथ्वीको दुनियाँ भन्दा पर जाने ठाँउ छैन

सङ्सार जित्ने अभिलाषा बोकेर
कुदिरहेका अलेक्जेन्डर आफैंसङ्ग हारेर गए

एक दिन फर्किनै पर्ने घर
चटक्कै भुलेर नहेरौ त्यो कंकृट शहर
जहाँ मन हराएको हुन्छ

नअंगालौं लोभको भाडो कहिल्यै
जहाँ मन खोसेर लुकाइदिन्छ नभेटिने गरि

र मक्किन्छ आफ्नै घर
मक्किन्छ सम्बन्ध
मक्किन्छ समाज अनि देश ।।

(याम ‘नौलो दिप’ मगर, रुन्टीगढी ७, रोल्पा)



प्रतिक्रिया दिनुहोस !