१६ बैशाख २०८१, आइतबार

युनिलिभरको नाफा दशक यताकै उच्च, शेयरधनीले हालसम्मकै धेरै लाभांस पाउने

प्रकाशित मिति :  13 December, 2023 6:53 am


काठमाडौँ। युनिलिभरले दशक यता सबैभन्दा बढी नाफा कमाएको छ । अधिक नाफा कमाएको उपलक्ष्यमा कम्पनीले शेयरधनीलाई हालसम्मकै उच्च लाभांस वितरण गर्ने निर्णय गरेको छ।

युनिलिभर नेपालको ३० औं वार्षिक साधारण सभा मंगलवार सम्पन्न भएको छ। कम्पनीले हालसम्मकै सर्वाधिक लाभांस प्रति शेयर एक हजार ५८० रुपैया बाँड्ने निर्णय गरेको छ।

कर पछिको नाफा एक अर्व ८३ करोड ४० लाख रुपैयाँ पुगेको छ । यो गत वर्षको तुलनामा १९ प्रतिशतले बढी हो।
युनिलिभर नेपाल लिमिटेडका प्रबन्ध निर्देशक अम्लान मुखर्जीले कर पश्चात् कम्पनीको खुद नाफा गत वर्षको रु १५४.२ करोडबाट बढेर यो वर्ष १८३.४ करोड पुगेको जानकारी गराउँदै बितेको १० वर्षकै सबैभन्दा धेरै भएकोमा खुशी व्यक्त गरे।

साधारणसभामा बोल्दै अध्यक्ष देव बाजपेईले युनिलिभर नेपाल लिमिटेडको व्यापक आपूर्ति सञ्जाल, चुस्त ग्राहक व्यवस्थापनयुक्त उद्देश्यपूर्ण बजार प्रवद्र्धनका साथ अघि बढिरहेको चर्चा गर्दै आगामी आर्थिक वर्षहरुमा भौगोलिक, खरिद, मानव पूँजी, प्रविधि, समावेशीता र स्थायित्वमा देखा परेका व्यवधानहरु हटाउँदै अगाडी बढ्ने प्रसस्त अवसर रहेको बताए।

बाजपेईले सबै शेयरधनीहरु, नियामक निकायहरु, कर्मचारीहरु र अन्य सरोकारवालाहरुलाई धन्यवाद व्यक्त गर्दै कम्पनीले आगामी दिनमा थप प्रगति गर्दै जाने आश्वस्त पारे । उनले भने, “यहाँ, हामी अबको यात्रा कठिन हुन सक्ने अपेक्षा गर्न सक्छौँ, तर हामी विश्वस्त छाँं कि यसलाई हामी अत्यन्त लगनशीलताका साथ व्यवस्थापन गर्न सक्षम हुनेछौँ।”

कम्पनीले ३० औं वार्षिकोत्सव “हरेक घरमा, हरेक मनमा” भन्ने नाराका साथ मनाइरहेको छ। युनिलिभरको ८५ प्रतिशत शेयर संस्थापक शेयरधनीहरुको रहेको छ भनें बाँकी १५ प्रतिशत शेयर सर्वसाधारणहरुको रहेको छ ।



प्रतिक्रिया दिनुहोस !