२१ बैशाख २०८१, शुक्रबार

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको बाटो खुल्यो

प्रकाशित मिति :  11 January, 2024 11:42 am


काठमाडाैँ । चितवनमा अलपत्र परेको गौतम बुद्ध क्रिकेट रङ्गशाला निर्माणको बाटो खुलेको छ ।

मङ्गलबार बसेको मन्त्रिपरिषद बैठकले रङ्गशालालाई बागमती प्रदेश सरकारसँगको साझेदारीमा बनाउन चितवनको भरतपुर महानगरपालिकालाई सहमति दिएकोपछि निर्माणको बाटो खुलेको हो ।

भरतपुर महानगरपालिकालाई रङ्गशाला निर्माण, सञ्चालन र व्यवस्थापन प्रयोजनका लागि सहमति प्रदान गरिएको नेपाल सरकारका सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

महानगरसँग प्रदेश सरकारले पहिलो चरणमा ७५ करोड रुपैयाँको काम गर्ने गरी सहमति भइसकेको थियो तर भरतपुर महानगरपालिकाले तयार गरेको लागत इस्टिमेट अनुसार राष्ट्रिय स्तरका खेल खेल्न मिल्ने बनाउन एक अर्ब लाग्ने देखिएको छ ।

भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले लागत अनुमान (इस्टिमेट) बनाउँदा एक अर्ब रुपैयाँ लाग्ने देखिएकोले यसअघिको सहमतिअनुसार बजेट सुनिश्चितता गर्न प्रदेश सरकारलाई प्रस्ताव पठाइसकिएको जानकारी दिइन् ।

पहिलो चरणमा खेल मैदान र प्याराफिट लगायतका काम सकेर खेल खेल्न मिल्ने बनाइने उनको भनाई छ ।

चन्दा उठाएर रंगशाला निर्माण सुरु गरेको धुर्मुस सुन्तली फाउन्डेसनले १९ करोड ऋण लागेको भन्दै २ वर्षअघि निर्माणको काम छाडेको थियो । त्यसपछि रङ्गशाला अलपत्र छ ।

अब ठेक्का आह्वान गरेर निर्माणको काम अघि बढाउन बाटो खुलेको छ ।

नेपाल सरकारले गौतम बुद्ध क्रिकेट रंगशालासहित ३ वटा क्रिकेट रंगशालालाई राष्ट्रिय गौरबको आयोजनामा राखेको छ ।



प्रतिक्रिया दिनुहोस !