१४ बैशाख २०८१, शुक्रबार

बर्दियाको बढैयाताल गाउँपालिका आलुको बीउ उत्पादन र तरकारी खेती क्षेत्रका रुपमा विस्तार

प्रकाशित मिति :  28 May, 2020 2:03 pm


बर्दिया, १५ जेठ ।

बर्दियाको बढैयाताल गाउँपालिकालाई आलुको बीउ उत्पादन र व्यावसायिक तरकारी खेती क्षेत्रका रुपमा विकास र विस्तार गरिएको छ । स्थानीयवासी कृषिमा आश्रित भएकाले कृषि उत्पादनलाई जोड दिइरहेको गाउँपालिका वडा नं ४ का वडाध्यक्ष कर्णबहादुर थापाले जानकारी दिए ।

उनका अनुसार गाउँपालिकामा आलुको बीउको उत्पादन राम्रो हुँदै आएको छ । गाउँपालिकाका करीब २०० किसान तरकारी र आलु खेतीमा संलग्न छन् । सङ्घीय र प्रदेश सरकारले कृषिका लागि पर्याप्त बजेट विनियोजन नगरे पनि यसलाई टेवा पुग्ने कार्यक्रम गाउँपालिका तहबाट हुँदै आएको वडाध्यक्ष थापाले बताए ।

गाउँपालिकामा स्थानीयस्तरमा उत्पादित तरकारी शीतला, पशुपति र सीतापुर हाट बजार तथा मैनापोखरबाट बिक्रीवितरण हुँदै आएको छ । मैनापोखर र कालिकाबाट वर्षेनी झण्डै ४०० टन आलुको बीउ र डेढ हजार टन आलु उत्पादन हुँदै आएको जनाइएको छ । अहिलेको बन्दाबन्दीले भने हाटबजार बन्द हुँदा बीउको विक्री वितरण रोकिएपछि किसान मर्कामा परेका छन् ।

गाउँपालिकाको आठ हजार हेक्टरमा खेती हुँदै आएको छ । पचासी प्रतिशत स्थानीयवासी कृषिमा आश्रित छन् । वडाका बासिन्दा कृषिमा आश्रित भएकाले कृषि उत्पादनलाई जोड दिइएको वडाध्यक्ष थापाले जानकारी दिए ।

किसानले तरकारीका अलावा धान,गहुँ, मकै, मसुरो, केराउ, अरहरलगायत अन्न र दलहन बाली पनि उत्पादन गर्दै आएका छन् । गाउँपालिकाले पनि कृषि शाखामार्पmत सेवा प्रवाह गरिरहेको बढैयाताल—३ का किसान रामकुमार थारुले बताए ।

बजेट अभावका कारणले गाउँपालिकाले चाहेर पनि पर्याप्तरुपमा कृषि सेवा दिन सकेको छैन । गाउँपालिकामा आएको बजेटको निश्चित रकम विषयगत सेवाअन्तर्गत कृषिमा छुट्याएर किसानका लागि खर्च हुने गरेको छ । सरकारले कृषिमा आधुनिकीकरण गर्ने भने पनि यसका लागि न्यून बजेट छुट्याउने गरेको अध्यक्ष थापाको भनाई छ ।

गत वर्ष गाउँपालिकाले कृषि क्षेत्रका लागि रु ६० लाख बजेट विनियोजन गरेपछि उत्पादन बढ्ने विश्वास गरिएको छ । मैनापोखर, भोलागौढी र शीतलाबजार गाउँपालिकाको बजार क्षेत्र हो । अन्य सबै क्षेत्रका बासिन्दा कृषि पेशामा आबद्ध छन् ।



प्रतिक्रिया दिनुहोस !