१४ बैशाख २०८१, शुक्रबार

घरायसी विद्युत् उपभोग गर्ने ग्राहकलाई १० युनिटसम्म निःशुल्क,सुनकोशी मरिन डाइभर्सनका लागि २ अर्ब

प्रकाशित मिति :  28 May, 2020 6:35 pm


काठमाण्डौं, १५ जेठ ।

सरकारले घरायसी विद्युत् उपभोग गर्ने ग्राहकलाई १० युनिटसम्म निःशुल्क गरेको छ । लामो समयदेखि कम विद्युत् उपभोग गर्नेलाई विशेष छुट दिनुपर्ने भन्ने मागलाई सरकारले सम्बोधन गरेको छ ।

अर्थमन्त्री डा. युवराज खतिवडाले आज सङ्घीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्नुहुँदै उक्त घोषणा गरेका हुन्। यस्तै सरकारले १५० युनिटसम्म विद्युत् प्रयोग गर्नेलाई २५ प्रतिशत र २५० युनिटसम्म विद्युत् प्रयोग गर्नेलाई १५ प्रतिशत छुट दिने व्यवस्था गरिएको छ ।

यस्तै माग कम हुने समयमा विद्युत् उपभोग गर्ने ग्राहकलाई समेत सरकारले छुट दिने व्यवस्था गरेको छ । उद्योगलाई डिमाण्ड शुल्कमा समेत छुट दिइने भएको छ । लकडाउनका कारण बन्द भएका उद्योग व्यवसायको विद्युत् महशुलमा समेत छुट दिने प्रबन्ध गरिएको छ ।

यस्तै खानेपानीतर्फको विद्युत् महसुलमा समेत छुट दिने व्यवस्था बजेटमा गरिएको छ । आन्तरिक रुपमा विद्युत् खपत बढाउने लक्ष्यका साथ सरकारले उक्त व्यवस्था गरेको हो । लकडाउनका समयलाई ध्यानमा राखेर सरकारले यसअघि नै १५० युनिटसम्म विद्युत् खपत गर्नेलाई २५ प्रतिशत र उत्पादनमूलक उदोगका लागि ५० प्रतिशतसम्म छुट दिने व्यवस्था गरिएको थियो ।

सरकारले सुनकोशी मरिन डाइभर्सन परियोजनाका लागि बजेट विनियोजन गरेको छ । आगामी आर्थिक वर्षको बजेटमा सुनकोशी मरिन डाइभर्सन आयोजनाका लागि २ अर्ब ४६ करोड रुपैयाँ बराबरको बजेट विनियोजन गरिएको जानकारी दिएका हुन् । सो रकम सुरुङमार्ग निर्माणलगायतका काममा खर्च गरिने भएको छ ।

आयोजनाको चालू आ.व.मा नै प्रारम्भिक काम शुरु भइसकेको छ । सो आयोजनाबाट प्रदेश नं २ का बारा, पर्सा, रौतहटलगायतका जिल्लाका एक लाख २१ हजार हेक्टरमा सिँचाइ सुविधा उपलब्ध गराउने लक्ष्य राखिएको छ । सो आयोजनालाई सरकारले राष्ट्रिय गौरवको आयोजनामा समावेश गरेको छ ।

सिन्धुलीको सुनकोशी गाउँपालिका–६ को कानढुङ्ग्री नजिक सुनकोशी नदीमा १२ मिटर उचाइको बाँध राखी ६७ क्युविक प्रतिसेकेन्ड पानी १३ दशमलव १ किलोमिटर सुरुङबाट कमलामाई नगरपालिका–२ को कुसुमटारस्थित मरिन खोलामा पानी खसाल्ने गरी डिजाइन गरिएको छ । चालू आ.व.मा समेत सो आयोजनाका लागि दुई अर्ब पाँच करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ ।



प्रतिक्रिया दिनुहोस !