२२ बैशाख २०८१, शनिबार

समुदायबिच सद्भाव बढाउन र एकताबद्ध गर्न सघाउने पर्व होलीः प्रधानमन्त्री प्रचण्ड

प्रकाशित मिति :  24 March, 2024 9:52 am


काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले होलीले समुदायबीच सद्भाव बढाउने तथा समुदायलाई एकताबद्ध गर्न सघाउने बताएका छन्।

फागु पूर्णिमा (होली) को अवसरमा शुभकामना व्यक्त गर्दै उनले अनेकतामा एकता र राष्ट्रिय स्वाभिमान नेपालको साझा पहिचान भएको चर्चा गरेका छन्।

शुभकामना मन्तव्यमा भनिएको छ, “यहाँका प्रत्येक जातजाति र धर्मावलम्बीहरूका आ–आफ्नै साँस्कृतिक महत्व बोकेका मौलिक परम्परा र पर्वहरू छन् । हाम्रा चाडपर्वहरूले समुदायबीच सद्भाव बढाउँछन् । समुदायलाई एकताबद्ध गर्न सघाउँछन् ।”

नेपाल भौगोलिक दृष्टिले सानो भएर पनि दर्शन, सभ्यता, संस्कृति, पर्वहरू एवं विशिष्ट पहिचानका कारण नेपाल विश्व मानचित्रमा वैभवशाली देशका रूपमा स्थापित रहेको उनले चर्चा गरका छन्।

नेपाली समाजमा विद्यमान बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक, बहुधार्मिक विशेषताहरूले हाम्रो राष्ट्रिय स्वाभिमान र गौरवलाई मात्रै स्थापित नगरी एकले अर्काको पहिचान, स्वाभिमान र संस्कृतिलाई सम्मान र आत्मसात गर्ने राष्ट्रिय संस्कृतिको विकाससमेत गरेको प्रधानमन्त्री प्रचण्डले बताएका छन्।

उनले भनेका छन्, “रङ्हरूको पर्वका रूपमा स्थापित होली पर्व पनि त्यस्तो पर्व हो, जसले सबै वर्ग, जाति, भाषा, भूगोल र संस्कृतिको भावना एवं अन्तर्घुलनलाई प्रतिनिधित्व गर्दछ ।”

विभिन्न धर्म, भाषा र संस्कृति मान्ने समुदायहरूलाई आ–आफ्ना मौलिक परम्परा र संस्कृतिको अनुसन्धान, संरक्षण र सम्बर्धन एवं फरक जाति र समुदायको संस्कृति र आत्मस्वाभिमानको सम्मान गर्न अभिप्रेरित गर्ने प्रधानमन्त्रीको भनाइ छ।

शुभकामना सन्देशमा भनिएको छ, “असत्यमाथि सत्य र खरावमाथि असल पक्षको विजयको रूपमा लिइने र उल्लासपूर्वक मनाइने फागु अर्थात् होली पर्वले मानव जीवनलाई रङ्गीन र उल्लासमय बनाउन प्रेरित गर्दछ । तसर्थ, होली पर्व सम्पूर्ण नेपालीहरूका साझा पर्वका रूपमा स्थापित भएको छ ।”



प्रतिक्रिया दिनुहोस !