१८ बैशाख २०८१, मंगलबार

उपचारको नाममा व्यापार गरिरहेका निजी अस्पताललाई कारबाहीको दायरामा ल्याउन सरकारसँग माग

प्रकाशित मिति :  12 April, 2024 3:02 pm


काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सांसद नारायणदत्त भट्टले उपचारको नाममा व्यापार गरिरहेका निजी अस्पताललाई कारबाहीको दायरामा ल्याउन सरकारसँग माग गरेका छन् ।

राष्ट्रिय सभामा पेश गरिएको ‘निःशुल्क स्वास्थ्य उपचारको सुनिश्चिता सम्बन्धि’ सङ्कल्प प्रस्तावमाथिको छलफलमा भाग लिँदै सांसद भट्टले स्वास्थ्य जस्तो संवेदनशील विषयमा पनि गम्भीर नभई उपचारको नाममा व्यापार गरिरहेको निजी अस्पताललाई नियन्त्रणमा ल्याउने दायित्व सरकारको भएको बताए ।

उनले नागरिकको बाँच्न पाउने अधिकारलाई सुरक्षित गर्छ भन्ने तर त्यस अनुसारको काम नगरेको भन्दै सरकारको आलोचना पनि गरे ।

उनले भने,“ हामी स्वास्थ्य बीमा गर्छौं । हस्पिटलमा गयो कहिले ३ महिना पछि आउनुस भन्छ, कहिले ६ महिना पछि । बिरामी आत्तिएर एक, डेढ महिनामा सकिन्छ । मान्छेको बाँच्न पाउने अधिकार नै भएन ।”

सांसद भट्टले सुदूरपश्चिम प्रदेशमा एउटा मात्रै प्रादेशिक अस्पतालले भन्न नसक्ने भन्दै तत्काल दशरथ चन्द मेडिकल कलेज सञ्चालनमा ल्याउन पनि सरकारलाई आग्रह गरे ।

सांसद भट्टले अकालमा नागरिकको ज्यान जाने अवस्था आउन नदिनका लागि स्वास्थ्य बिमा कार्यक्रमलाई प्रभावकारी बनाउन पनि सरकारलाई सचेत गराए ।



प्रतिक्रिया दिनुहोस !