वर्षाले काठमाडौँ जोड्ने अधिकांश सडक बन्द, त्रिभुवन राजपथ एकतर्फी सञ्चालन
काठमाडौँ । लगातारको वर्षाका कारण काठमाडौँ उपत्यका भित्रिने र बाहिरिने अधिकांश सडकमार्ग बन्द भएका छन्।
हाल त्रिभुवन राजपथको हेटौँडा–पालुङ–नौबिसे खण्डबाट काठमाडौँ भित्रिने सवारी सञ्चालनमा छन् भने बाहिरिन फर्पिङ–फाखेल–भीमफेदी सडक प्रयोग भइरहेको छ।
काठमाडौँ भित्रिने मुख्य मार्गका रूपमा रहेको त्रिभुवन राजपथलाई अत्यावश्यक सामग्रीको आपूर्ति तथा बाटोमा अलपत्र परेका यात्रु र सवारीसाधनलाई व्यवस्थापन गर्न एकतर्फी सञ्चालन गरिएको हो। मकवानपुरतर्फबाट काठमाडौँ आउने सवारीलाई मात्र उक्त मार्ग प्रयोग गर्न दिइएको ट्राफिक प्रहरीले जनाएको छ।
उता, काठमाडौँ बाहिरिने सवारीका लागि प्रयोग भइरहेको फर्पिङ–फाखेल–भीमफेदी सडकमा समेत जोखिम बढ्दै गएको प्रहरीले जनाएको छ। उपत्यका ट्राफिक प्रहरी कार्यालयकाले फाखेल सडकखण्डमा जोखिमको अवस्था बढिरहेकाले यात्रामा सतर्कता अपनाउन आग्रह गरेको छ।
मुख्य राजमार्गहरूमा पहिरो तथा सडक अवरोधका कारण पृथ्वी राजमार्ग, बीपी राजमार्ग र कान्तिलोकपथलगायतका सडकमा नियमित यातायात सञ्चालन हुन सकेको छैन। वर्षाको अवस्था हेरेर सम्बन्धित प्रशासनले विभिन्न सडकखण्डमा सवारी आवागमनमा रोक लगाएका छन्।
साना सवारीका लागि टोखा–छहरे र साँखु हुँदै काठमाडौं आउने–जाने बाटो पनि प्रयोगमा रहेको ट्राफिक प्रहरीले जनाएको छ। तर वैकल्पिक सडकमा ठूला मालवाहक सवारी सञ्चालन गर्न सक्ने अवस्था छैन।
हालको अवस्थामा अत्यावश्यकबाहेक लामो दूरीको यात्रा नगर्न ट्राफिक प्रहरीले सर्वसाधारणलाई अनुरोध गरेको छ। वर्षा जारी रहेकाले सञ्चालनमा रहेका सडकमा समेत जुनसुकै बेला जोखिम बढ्न सक्ने प्रहरीले जनाएको छ।









