१७ बैशाख २०८१, सोमबार

नेपालमा पर्वतीय देशहरुको जलवायु परिवर्तनसम्बन्धि अन्तर्राष्ट्रिय स्तरको संवाद हुने

प्रकाशित मिति :  16 April, 2024 8:05 am


काठमाडौँ। नेपालमा पर्वतीय देशहरुको जलवायु परिवर्तनसम्बन्धि अन्तर्राष्ट्रिय स्तरको संवाद हुने भएको छ ।

वन तथा वातावरण मन्त्रालयले सोमवार सिंहदरबारमा पत्रकार सम्मेलन गरी आगामी जेठको ९ र १० गते सो संवाद गर्न लागिएको जानकारी गराएको हो । कोप—२८ मा नेपालले पारेको प्रभाव अनुसार सो अन्तर्राष्ट्रिय स्तरको संवाद कार्यक्रम नेपालमा नै गर्न सम्भव भएको वन तथा वातावरणमन्त्री नवलकिशोर साह सुडीले बताए।

मन्त्री साहले भने, “यो कुनै सरकारको मात्रै समस्या होइन । यो कुनै व्यक्तिको मात्रै समस्या होइन । यो पूरै देशको समस्या हो । देशलाई कसरी अगाडि बढाउने, देशको प्रतिनिधित्व अव लिडरसिपको सवाल छ ।”

उनले सो अन्तर्राष्ट्रिय स्तरको संवाद कार्यक्रमलाई सफल पार्न तीन वटै तहको सरकारलाई आह्वान गरे। सगरमाथाजस्तो हिम शिखर उजाड भएकाले जलवायु परिवर्तनको असर न्युनिकरणका लागि सहयोग गर्न अन्तर्राष्ट्रिय समुदायलाई आह्वान गर्न पनि नेपालले सो संवाद कार्यक्रम आयोजना गर्नुपरेको स्पष्ट पारे।

उनले भने, “यो कुनै राजनीतिक विषय होइन । यो हामीहरुको जीवनसँग गाँसिएको समस्या हो । यसका लागि हामीले जो, जहाँ छ, त्यहीबाट के सहयोग गर्न सक्नुहुन्छ । पोजेटिभ थिंकिङ गरेर हाम्रो देश, हाम्रो व्यक्तित्व, हाम्रो सम्पूर्ण देशको राम्रो हुन्छ, विश्वमा । हामी कम्ती कार्वनाईअक्साईड उत्सर्जन गर्छौं । सगरमाथा जस्तो ठाउँ उजाड भएको छ । त्यस्तो अवस्था आउन नदिन सबैको सहयोगको याचना गर्दछु ।”

पर्वतीय देशहरुको नेतृत्वदायी भूमिका निर्वाह गर्न पनि सो संवाद कार्यक्रम सहयोगी हुने मन्त्रालयले जनाएको छ । सहसचिव महेश्वर ढकालले नेपालको पर्वतबाट स्वच्छ हावा र सफा पानी आउने र त्यसले विश्व समुदायलाई नै फाईदा पुग्ने भएकाले त्यस सम्बन्धमा छलफल गर्न सो संसद कार्यक्रम उपयोगी हुने बताए।

—न्युज एजेन्सी नेपाल



प्रतिक्रिया दिनुहोस !