२४ आश्विन २०८१, बिहिबार

काभा महिला नेसन्स लिगको तयारीका लागि रसियासँगको खेल महत्वपूर्ण– अरुणा शाही

प्रकाशित मिति :  21 July, 2024 8:15 am


काठमाडौँ। नेपाली महिला भलिबल टोलीका कप्तान अरुणा शाहीले काभा महिला नेसन्स लिगको तयारीका लागि रसियाको टोलीसँगको मैत्रीपूर्ण खेल महत्वपूर्ण सावित हुने बताएकी छिन्।

नेपाल र रसियाबीच आईतवार र सोमवार त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको कभर्डहलमा दुई मैत्रीपूर्ण खेल हुँदैछ । नेपालले काभा महिला नेसन्स लिगको तयारीका लागि यो मैत्रीपूर्ण खेल खेल्न लागेको हो ।

मैत्रीपूर्ण खेलअगाडि शनिवार आयोजित पत्रकार सम्मेलनमा नेपालका कप्तान अरुणा शाहीले रसिया भलिबलमा शारीरिक र रणनैतिक रूपमा पनि निकै बलियो टोली रहेकाले यो मैत्रीपूर्ण खेलबाट धेरै पक्ष सिक्न पाउने बताइन्।

नेपाली महिला भलिबल टोलीका प्रशिक्षक जगदीश भट्टले काभा महिला नेसन्स लिगको पूर्वसन्ध्यामा रसियाजस्तो टोलीसँग खेल्न पाउनु ठूलो अवसरको रूपमा लिएकी छिन्।

उनले पनि रसियाको भलिबलको पावर गेम रहेको र रसियासँगको मैत्रीपूर्ण खेलबाट धेरै पक्ष सिक्न पाउने विश्वास गरिन्। प्रशिक्षक भट्टले आफूभन्दा बलियो टोलीसँग खेल्दा हार र जितभन्दा पनि टेक्निक सिक्ने अवसरका रूपमा यो मैत्रीपूर्ण खेललाई लिनुपर्ने औंल्याइन्।

बलियो टोली बन्न कसरी खेल्नुपर्छ र के रणनीति आवश्यक पर्छ भन्ने कुरा यो मैत्रीपूर्ण खेलबाट सिक्न पाउने प्रशिक्षकको विश्वास छ ।

रसियन टोलीका प्रशिक्षक युरी मरिचेभद्वारा अन्तर्राष्ट्रिय स्तरमा कुनै पनि टोली सहज नहुने भएकाले खेल रोमाञ्चक नै हुने र आफ्नो टोलीमा अधिकांश नयाँ खेलाडी रहेको विश्वास गरियो।

प्रशिक्षक युरीले नेपाली टोलीबारे आफू धेरै जानकार नरहे पनि टोली राम्रो नै रहेको विश्वास गरेकी हुन्।

रसियाकी खेलाडी बाबेशिना मारियाको नेपालसँगको खेल रोचक र प्रतिष्पर्धात्मक रहने विश्वास छ। नेपाली खेलाडीले हार नमानी कडा मिहिनत साथ खेल्ने आशा व्यक्त गरिएको छ।

नेपाल भलिबल संघका महासचिव रोशन श्रेष्ठले यो मैत्रीपूर्ण भलिबल खेलले रसिया र नेपालबीच सम्बन्ध थप प्रगाढ बनाउन मद्दत गर्नुका साथै खेलाडीले पनि आफ्नो क्षमता र प्रतिभा साटासाट गर्ने अवसर पाउने विश्वास व्यक्त गरे।

नेपालस्थित रसियाको दुतावासको विशेष सहयोगमा मैत्रीपूर्ण खेल आयोजना हुन लागेको हो । १६ सदस्यीय टोलीसहित रसिया नेपाल आइपुगेको हो । रसियाको टोलीमा एमेलिना एन्जेलिना, अजनोभा अनास्तासिया, कोस्तिउकेभिच ओल्गा, क्रुक इना, लुबेन्चेन्को एना, सर्गीभा बार्बरा, स्लाउटिना नाटालिया, टिमोस्कोभा एकाटेरिना, बोलोदिना मिला, बासिना एलेना, जिनोबेबा एना र बाबेसिना छन् ।

नेपालले मैत्रीपूर्ण खेल र काभा महिला नेसन्स लिगको तयारीका लागि १४ सदस्यीय टोली घोषणा गरिसकेको छ । अरुणा शाहीको कप्तानीमा दुई नयाँ खेलाडी समेट्दै टोली घोषणा भएको हो ।

टोलीमा अनुभवी खेलाडी सरस्वती चौधरी, सलिना श्रेष्ठ, सफिया पुन, निरुता ठगुन्ना, संगम महतो, पुनम चन्द, कामना विष्ट र उषा भण्डारी छिन् । लिबेरो शान्तिकला तामाङ, मिडल ब्लकर कविता भट्ट, सेटर प्रगति नाथ पनि टोलीमा रहेकी छिन् ।

मिडल ब्लकर सुमित्रा रेग्मी र स्पाइकर आरती सुवेदीले पहिलोपटक नेपाली टोलीमा स्थान बनाएकी हुन् । महत्वपूर्ण स्पाइकर प्रतिभा माली भने चोटका कारण टोलीमा छैनन् । नेपाली टोलीको मुख्य प्रशिक्षणमा जगदीश र सहायक प्रशिक्षकमा भरत यादव र रूपेश विष्ट छन् ।

टोलीको व्यवस्थापकमा पूर्वखेलाडी तथा संघकी सदस्य निलम बज्राचार्य रहेकी छिन् । नेपालले काभा महिला नेसन्स लिग घरेलु मैदानमा नै खेल्दै छ ।

नेपालसहित पाँच राष्ट्र सहभागी हुने प्रतियोगिता साउन १७ देखि २३ गतेसम्म दशरथ रंगशालास्थित कभर्डहलमा चल्नेछ । नेपालसँगै इरान, भारत, श्रीलंका र माल्दिभ्सले प्रतियोगिता खेल्नेछन् ।

—न्युज एजेन्सी नेपाल



प्रतिक्रिया दिनुहोस !