१ आश्विन २०८१, मंगलबार

डेंगु नियन्त्रण र रोकथामका लागि स्वास्थ्य मन्त्रालयले सुरू गर्‍यो कार्यालय सरसफाइ अभियान

प्रकाशित मिति :  16 August, 2024 12:25 pm


काठमाडाैँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले डेंगु रोकथाम र नियन्त्रणका लागि कार्यालय सरसफाई अभियान सुरू गरेके छ ।

स्वस्थ नेपाल र निरोगी नेपालीका लागि हप्ताको एक दिन कार्यालय\घर सरसफाई अभियान सुरू गरेको हो । निरोगी नेपाल बनाउने संकल्प पूरा गर्नका लागि मन्त्रालयले हरेक हप्ताको एक दिन शुक्रवार घर\कार्यालय सरसफाई गर्न एक घण्टाको समय छुट्याउन आम नागरिकसँग समेत आग्रह गरेको हो ।

शुक्रवार बिहान १० बजेदेखि ११ बजेसम्म एक घण्टाको समय स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलसहित मन्त्रालयका कर्मचारीहरु मिलेर मन्त्रालय सरसफाईमा जुटेकाे थियाे । मन्त्रालयबाट सुरू गरिएको अभियान शहर हुँदै गाउँसम्म नै पुग्ने र यसले भविष्यका लागि समेत स्वस्थ रहन मद्दत पु¥याउने लक्ष्य मन्त्रालयको छ ।

अभियानका बारेमा जानकारी दिँदै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.प्रकाश बुढाथोकीले विगतका वर्षहरुलाई हेर्दा यस वर्ष संख्यात्मक रूपमा डेंगुको संख्या कम देखिएपनि जोखिम भदौ र असोज महिनामा बढी हुने भएकाले सरसफाई अभियान सुरू गरेको बताए ।

उनले डेंगुको नियन्त्रण र न्युनिकरणका लागि गत हप्तादेखि नै संघीय मन्त्रालय र मातहत रहेका कार्यालयमा शुक्रवार सरसफाई अभियान सुरू गरेको बताए । उनले पानी जम्मा हुने भाँडा घोप्ट्याउने, ओसिलो ठाउँ हुन नदिने गर्न सुझाव दिए ।

प्रवक्ता बुढाथोकीले सरसफाई अभियानले डेंगुमात्र नभइ अन्य रोगहरु पनि नियन्त्रण र रोकथाम गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरे। भदौ र असोज महिनामा आफ्नो कार्यालय सफा गर्ने अभियान चलाउनसके मात्रै पनि डेंगु नियन्त्रणमा सहयोग पुग्ने सरकारको विश्वास छ ।डेंगी रोकथाम तथा नियन्त्रणका लागि सबैभन्दा प्रभावकारी उपाय वातावरणीय हेरफेर र परिमार्जन हो । जुन खोज र नष्ट विधिमार्फत प्राप्न गर्न सकिने चिकित्सकहरु बताउँछन् । खोज र नष्ट विधि घरदेखि ठूला सामुदायिक अभियानहरूसम्म सबै स्तरहरूमा लागू गर्न सकिने विज्ञहरूको भनाइ छ ।

यसका लागि कुनै परिष्कृत उपकरण तथा विशेष सीप वा विशेषज्ञको आवश्यकता नपर्ने र समुदायिक सहभागिताबाटै गर्न सकिने भएको हुँदा यो विधि लागत प्रभावी रहेको विज्ञहरुको सुझाव छ । समुदायहरूलाई नियमित खोजी र नष्ट गतिविधिहरूमा संलग्न गरेर, यसले डेंगी रोकथाम प्रयासहरूमा स्वामित्व र जिम्मेवारीको भावनालाई बढावा दिनुका साथै दिगोपनलाई सुनिश्चित गर्न सकिने चिकित्सकहरूको विश्वास छ ।



प्रतिक्रिया दिनुहोस !