३१ भाद्र २०८१, सोमबार

साफ यू-२० मा नेपालको विजयी सुरुवात

प्रकाशित मिति :  18 August, 2024 7:13 pm


काठमाडाैँ । निराजन धामीको गोल प्रेरणामा नेपालले आइतवार श्रीलंकामाथि साँघुरो जित निकाल्दै साफ यु–२० च्याम्पियनसिपमा सुखद् जित निकालेको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा समूह ‘ए’ को नेपालले श्रीलंकामाथि १–० को जित निकाल्दै सुखद् सुरूवात गरेको हो । श्रीलंकामाथि हाबी भएको नेपालले पहिलो हाफमा अग्रता लियो । दोस्रो हाफमा पनि नेपालले कयौं अवसर सिर्जना ग¥यो । तर घरेलु टोलीका स्ट्राइकर असफल भए । नेपालले खेलको दोस्रो मिनेटमा नै अवसर बनाएको थियो ।

निराजनकै गोल खेलका रेफ्रीले अफसाइड निर्णय दिएपछि नेपालले सुरूवातमा नै अग्रता लिने अवसर गुमाउन पुग्यो । तर २४ औं मिनेटमा भने उनले नै सुन्दर गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाए । पेनाल्टी बक्सबाट उनले गरेको भली प्रहारमा श्रीलंकन गोलकिपर अहमेद फुलैलले पत्तै पाएनन् ।

२६ औं मिनेटमा पनि नीरज कार्कीले पनि हेडर गोल गर्ने सुन्दर अवसर गुमाए । समीर तामाङले नै पेनाल्टी बक्सबाट दिएको पासमा उनले बल भेट्टाउन नै सकेनन् । यससँगै पहिलो हाफमा नेपाल १–० ले अगाडि रह्यो । दोस्रो हाफमा नेपालले हाफ दर्जन जति सुन्दर अवसर बनाए पनि सदुपयोग गर्न सकेनन् ।

६० औं मिनेटमा समीर तामाङले अग्रता दोब्बर बनाउने सुनौलो अवसर गुमाए । राइट साइडबाट डिफेन्डर राम थापाको क्रसमा अनमार्क फरवार्ड समीर वान टच गोल गर्न चुके । पेनाल्टी बक्सभित्रै बाट उनको प्रहार आकासिएको थियो । ७० औं मिनेटमा पनि नेपालका फरवार्डले अर्का अवसर खेर फाले । ७५औं मिनेटमा अश्विन घोरासैनीको प्रहारले पनि पोस्टको दिशा लिन सकेन । ८० औं मिनेटमा विंगर अनिल बोम्जन लामाले पेनाल्टी बक्सबाटै गोल गर्र्ने सहज अवसर खेर फाले । मिडफिल्डर अभिनाष स्याङ्तानको थ्रु पासलाई उनले सदुपयोग गर्न सकेनन् ।

त्यसको दुई मिनेटमै समीर वान भर्सेस वानमा चुके । इन्जुरी समयमा निराजनको शक्तिशाली प्रहार क्रसबारमा लागेर बाहिरिन पुगेपछि नेपालले १–० को जितमा नै चित्त बुझायो । समूह ‘ए’ मा आयोजक नेपालसहित बंगलादेश र श्रीलंका छन् । अब नेपालले दोस्रो अगस्ट २२ मा बंगलादेशसँग खेल्नेछ । यो जित निकाल्दै नेपाल समूह विजेताका रूपमा दोस्रो चरणमा पुग्न चाहन्छ । अर्को समूहमा साविक विजेता भारत, माल्दिभ्स र भूटान छन् । सोमवार यो समूहको खेलमा भुटान र भारतबिच प्रतिष्पर्धा हुनेछ ।



प्रतिक्रिया दिनुहोस !