३१ भाद्र २०८१, सोमबार

हाल जनस्वास्थ्य संकटकाल लगाउनुपर्ने अवस्था छैनः मन्त्री पौडेल

प्रकाशित मिति :  28 August, 2024 6:35 pm


काठमाडाैँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले नेपालमा मनसुनको समयमा देखिने हैजाको हाल जनस्वास्थ्य संकटकाल लगाउनुपर्ने अवस्था नरहेको बताएका छन् ।

प्रतिनिधि सभाको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा.तोषिमा कार्कीले हैजा महामारीका कारण निम्तिनसक्ने स्वास्थ्य संकटकालको पूर्वानुमान, नियन्त्रण र द्रुत प्रतिकार्यलाई प्रभावकारी बनाउनु पर्ने भन्ने सार्वजनिक महत्वको विषयमाथिको ध्यानाकर्षणपछि बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले जनस्वास्थ्य संकटकाल लगाउनुपर्ने अवस्था नभएपनि संयम हुनुपर्ने स्थिति भने रहेको बताए । उनले हैजा, डेंगी लगायतका जनस्वास्थ्यका चुनौतिलाई सामना गर्न सामुहिक र सामन्वयात्मक प्रयास गर्नेगरी निर्णय गरी अघि बढेको पनि बताए ।

उनले हैजा प्रभावित क्षेत्रका द्रुत सूचना, जनचेतना अभिवृद्धि लगायतका क्रियाकलाहरू प्रभावकारी बनाउन तीन तहकै सरकारको समन्वयमा कार्य भइरहेको जानकारी दिए । उनले काठमाडौँ उपत्यकाका स्थानीय सरकार प्रमुखसँग हैजा, डेंगी लगायतका महामारीजन्य अवस्थाको व्यवस्थापन कसरी प्रभावकारी बनाउने भनेर अन्तरक्रिया तथा ठोस कदम चाल्नका लागि सहकार्य गरि बताए ।

मन्त्री पौडेलले मन्त्रालयले अर्लि वार्निङ एण्ड रिपोर्टिङ सिस्टम तथा १११५ कल सेन्टर लगायतका संयन्त्रबाट हैजा र डेंगीको निगरानी गरिरहेको बताए ।



प्रतिक्रिया दिनुहोस !