२५ श्रावण २०७९, बुधबार

भावनामा मौलाएको नेपाली राष्ट्रवाद भौतिकतामा नमुर्झाओस !

प्रकाशित मिति :  22 May, 2020 1:18 pm


राष्ट्रवाद जनताको हृदयमा देश प्रेमभावले ओतप्रोत हुँदै,अंकुरित भई फल्ने फुल्ने भावना हो। राष्ट्रवादलाई प्रभाव पार्ने तत्वहरू अवश्य पनि त्यो देशको संस्कार, संस्कृति ,रितीरिवाज, परम्परा,भेष,भूषा, भाषा आदि हुन् ।

कुनै पनि देशको राष्ट्रवाद बलियो हुन त्यो देशको संस्कार,संस्कृति,रितीरिवाज,परम्परा,भेष भूषा,भाषा आदिको समय सापेक्ष तवरले आफ्नो पहिचानलाई बचाउदै विकसित गर्दै जानु पर्छ । अन्यथा आधारभूत कुराहरूलाई संरक्षण सम्बद्र्धन नगरि राष्ट्रियता बलियो बनाउँछु भन्नु कमजोर जगमा बलियो घर बनाउँछु भन्नु झैं हो ।

नेपालको सन्दर्भमा राष्ट्रवादको भवना र यसैलाई प्रभाव पार्ने संस्कार, संस्कृति ,रितीरिवाज, परम्परा,भेष ,भूषा,भाषा आदिको सन्दर्भमा ईतिहासदेखि वि.सं २००७ सालसम्म राम्रोसँग पन्छिएको देखिन्छ । हुन त राणा शासनमा सत्ता बचाउन अंग्रेजसंग राणाहरूले साँठगाँठ नगरेका होईनन् । तर राष्ट्रिय भावना , राष्ट्रिय सार्वभौमिकता र राष्ट्रवादसँग सम्झौता गरेको देखिदैन । वि.सं २००७ सालको आन्दोलनमा सहयोगि बनेर पसेको भारतीय प्रभाव राजनैतिक सहयोगमा मात्र सिमित रहेन ।

नेपालको राजनैतिक, सामाजिक,आर्थिक, सांस्कृतिक, शिक्षा, खानपिन , भेषभूषा लगायत सबै क्षेत्रमा प्रभाव जमाउदै झण्डै झण्डै भारतीय बनाई सकेको अवस्था छ । नेपालमा जति जति भारतीय प्रभावमा सत्ता परिवर्तन हुँदै आए त्यति त्यति भारतीय प्रभाव नेपाली समाजको हर क्षेत्रमा बलियो हुदै आयो । २०४६ सालको परिवर्तन पश्चात धेरै क्षेत्रमा आत्मनिर्भर बनेको नेपाली उद्योग भारतीय चलखेल र हाम्रो तत्कालिन सरकारहरूको कमजोरीका कारण सबै जसो बन्द भएर एकादेशको कथा बनि सकेको छ ।

कुनै दिन भारतलाई चामल, दलहन ,तेलहन लगायत कृषिजन्य उत्पादन निर्यात गर्ने नेपाल आज भारतबाट चामल दलहन, तेलहन मात्र होईन जीरा मसला, खर्सानी ,बेसार, तरकारी आदि पनि आयात गरेर खाने अवस्था भईरहेको छ । हाम्रो शहरी क्षेत्रबाट मात्र होईन ग्रामिण गाउँबस्ति बाट समेत हाम्रा भेष भूषा हराई सकेका छन् र हराउने क्रम जारी छ।

पहाडका दूर-दराजका गाउँ बस्तिमा सम्म चनाचटपटे, पानीपुरी ,भेलपुरी धमाधम बिक्री बितरण भईरहेका छन्।भारतीय टी भी च्यानल र यीनका टेलीसिरीयल हाम्रो गाउँ शहरमा निकै प्रसिद्ध छन् पनि ।

सामाजिक, आर्थिक, राजनैतिक रूपमा उनिहरूको छायाँ मुनि हुँदाहुँदै र सांस्कृतिक रूपमा झण्डै झण्डै उनीहरूको प्रतिविम्व हुँदा पनि नेपाली जनको मन मनमा नेपाली राष्ट्रवाद मरेको छैन र भारतीय छायाँ परेको छैन । यही जन जनको मन मनमा बाँचिरहेको र झाँगिई रहेको राष्ट्रवादकै कारण राम्रो राष्ट्र बाँचिरहेको छ भन्दा अतिशयोक्ति नहोला । तर हामी नेपाली जनताले राष्ट्रवाद फलाई फुलाई राख्न ख्याल गर्नु पर्ने कुराहरू मुख्यतय: तीन वटा देखिन्छन् ।

पहिलोः संस्कृति

संस्कृति देशको पहिचान र प्रतिविम्व हो । सांस्कृतिक रूपमा नेपाल अहिले पनि भारत भन्दा कम छैन धनी नै छ । बहु—भाषिक बहु—सांस्कृतिक देश हो, नेपाल । जति गाउँ बस्ती पुगिन्छ, त्यति फरक फरक संस्कृति , परम्परा,रितीरिवाज,भेष—भूषा ,भाषा , चलनचल्ति आदि पाईन्छन् ।

यति वैभव र विविधताले भरिएको देश र देशबासी हामीले हाम्रै परम्परागत कुराहरूलाई समय सापेक्ष बिकास गर्दै लैजान जरूरी   छ । हाम्रै खानपिन, पहिरन, नाँचगान लगायत संस्कृतिका बिकास, संरक्षण र संवर्द्धन गरेर लान र जान सकेनौं भने कालान्तरमा सबै कुरा भारतीय प्रभावले भारतमय हुने छन् ।

बिस्तारै बिस्तारै दौरा सुरूवाल, टोपी,चौबन्दी चोली,फरिया,घलेक,गुन्यू,हाकुपटासी,बक्खु,दोचा,कछाड,पछ्यौरी,मुजेत्रो,नौगेडी,तिलहरी,शिरफूल ,शिरबन्दी,ढुङ्ग्री,बुलाकी,मुन्द्री, माडवारी,मंगलसूत्र,बाला,चुरा,झुम्का, पोते,नत्थी आदि ओझेल पर्दै गईरहेका छन्। यी पहिरन या गहना गुरीया मात्र होईनन् , यी त हाम्रा पहिचानहरू हुन् ।

हाम्रा परम्परा , रितीरिवाज, चलनचल्ति,खानपिन, भेषभूषा आदि सकिए भने, आउने वाला भोलिको पुस्ताले कुन चाही अलग पहिचानका निम्ति गौरव गर्ने र लड्ने ?

हाम्रो संस्कृति उपर राजनैतिक आक्रमण पनि भएका छन् । हो गणतन्त्रका निम्ति आन्दोलन भएको थियो । तर धर्म निरपेक्षताका निम्ति आन्दोलन भएको थिएन । तत् पश्चात भईरहेका धर्म परिवर्तनका परिवेशलाई केलायौं भने पक्कै पनि नेपाली संस्कृतिलाई फाईदा गर्दैनन्। दौरा सुरूवाल नेपाली एकताको पोशाक बनेको अबस्थामा अनेकन बखेडा गर्न आवश्यक थिएन।

स्मरण रहोस मार्क्सको जमानामा यूरोपमा सुट ( कोट, पाईन्ट,सर्ट ,टाई) गरिब मजदूरको पहिरन अवश्य थिएन । तर मार्क्सले सुटको बिरोध गरेनन् । न नै सामाजिक संस्कार पद्धतिका। हो समय सापेक्ष परिमार्जन गर्नै पर्छ। हामी जडसूत्रीय भएर बसौ भन्न खोजेको पनि होईन। तर लेहङ्गा र शेरवानीमा सजिएर पापड, नान,पराठा खाएर हाम्रो संस्कृति पक्कै फल्ने फुल्ने गर्दैन।

दोश्रो : आर्थिक

आजको विश्व विचारको भन्दा ब्यापारको बन्यो । देशको शक्ति,प्रभाव र अस्तित्व लाई आर्थिक समृद्धिसँग दाज्न थालियो । आर्थिक रूपमा सवल र सक्षम नहुँदा, आर्थिक लगायत सांस्कृतिक पर—निर्भरता र प्रभावको शिकार भईदो रहेछ । हामीले राजनैतिक परिवर्तन त गर्यौ तर आर्थिक परिवर्तन गर्न सकेनौं । कल कारखाना उद्योग धन्दा सबै बन्द गरेर यूवा जतिलाई बिदेशिन बाध्य पार्यौ ।

विप्रेशण भित्राएर देश चलाउने सजिलो बाटो रोज्यौं । यसले दीर्घकालिन रूपमा सामाजिक, आर्थिक, सांस्कृतिक, जनसाँख्यिक लगायत विविध क्षेत्रमा पार्ने प्रभाव तर्फ हामीले सोचेनौ । जुन जुन देशमा नेपाली पुगे त्यही त्यही नेपाली जनको मन रूईरहेको छ । त्यसको अर्थ हो नेपाल रूनु । विप्रेशण मात्र देश भित्रिएन होनहार यूवाहरूको लाश पनि भित्रियो । पुशुपालन खेतिबाली कम भए । कृर्षिमा आत्मनिर्भर देश पर(निर्भर भयो।

सनातन सीप कौशल हराएर गए। अब धेरैलाई मोही कसरी पर्छ भन्ने थाहा हुन छाड्यो। तसर्थ देशको राष्ट्रियता बलियो बनाउन र जन जनको मनमा राष्ट्रवाद फुलाउन फलाउन हामी नेपाली आर्थिक रूपमा आत्म निर्भर हुनै पर्छ । नेपालको परिवेश र हावापानी अनुकूल उत्पादन मूलक ,रोजगार मूलक अनि आत्मनिर्भरमुखी आर्थिक विकास गर्नै पर्छ। अन्यथा पर(निर्भर मुखी आर्थिक नीति र गतिविधिका भरमा हाम्रो राष्ट्रियता र राष्ट्रवाद बलियो हुदैन।

तेश्रो : राजनीति

यी सबैलाई प्रभाव पार्ने मुख्य आधार नै राजनीति हो । हाम्रो राजनीति सधै दैश मुखी भएन सत्ता मुखी भयो। जे गर्दा सत्ता पाईन्छ त्यही गर्ने अवसरवादी भयो। आफूले भारतलाई आमन्त्रण गरेर सत्ताको घोडा चढ्दा, भारतीय नेतालाई खुलेआम नेपाल भित्र्याएर आफ्नो पक्षमा भाषण गराउदा त्यो भारतीय या विदेशी हस्तक्षेप भएन। देशलाई दीर्घकालिन रूपमा असर पर्ने गरि लिखित सम्झौता भारतीय नेताहरूको रोहोवरमा दिल्लीमा गर्दा राष्ट्रघात भएन ।

तर सत्ताको तारतम्य मोलतोल लेनादेना आदि आदि स्वार्थ नमिल्दा राष्ट्रघात हुन्छ र नेपाली जनताको राष्ट्रवादी भावनाको ढाल,जलको घडा अनि मन्त्र बोकेर भज्न थालिन्छ । बिगतमा गरेका सारा कुशासन र भ्रष्टाचारले ब्याप्त गन्धलाई राष्ट्रवादको भावनाको जल छरेर चोखो निर्मल कञ्चन भईन्छ ।

राष्ट्रवादको मन्त्र भज्दै ढाल बोकेर अलौकिक बहादुर भईन्छ । लाग्छ रातारात चमत्कार भएर त्रीदेवको आशिर्वाद पाएर नेता साँच्चै अलौकिक र चमत्कारी भए छन् । जनताको राष्ट्रवादी भावनामा टेकेर बिगतका गल्ती कमजोरी सबै धोई पखाली गरि, सारा संयन्त्र परिचालन गरेर देवत्वकरण गर्दै जनतालाई भ्रमित पारिन्छ।

त्यसैले साँच्चै नेपाली राष्ट्रवाद र राष्ट्रियतालाई बलियो बनाउने हो भने, नेपाली राजनीति ईमान्दार हुनै पर्छ। नेपाली राजनीति सत्ता मुखी होईन देश मुखी हुनै पर्छ। सुशासन मुखी र भ्रष्टाचार बिहीन हुदै नेपालको अर्थिक समृद्धि र सांस्कृतिक उत्थान गर्नै पर्छ। राजनीति सत्ता प्राप्तिको, सत्ता दलको, दल गुटको र गुट गिरोहको हुने परिपाटीको अन्त्य हुनै पर्छ।

अन्यथा मौसम मौसम अनुकूल सत्ता र स्वार्थ रक्षाका निम्ति जादुगरको खल्तिबाट फुत्त फुत्त चमत्कारी जादुगरी निस्के झै निस्कने जादुगरी राष्ट्रवादी कदमले वास्तविकतामा नेपाली राष्ट्रियता र राष्ट्रवाद लाई फाईदा गर्ने छैन । त्यो पक्कै पनि नेपाली जनताको राष्ट्रवादी भावना संग खेलवाड हुनेछ।

यीनै सेरोफेरोका बीच नेपाली भूमि अतिक्रमण गर्दै भारतले मानसरोवर जाने बाटो एक पक्षीय ढङ्गले बनाएको बिषयलाई लिएर नेपालमा नेपाली जनताले जुन भावना दर्शाएका छन् , त्यो अत्यन्तै उच्चकोटीको छ । जनदबाब या भावनामा आएरै किन नहोस सरकार कूटनैतिक भन्दा आक्रामक र कार्य उन्मुख देखिएको छ ।

तर नक्सा बनाउनु र संविधान संशोधन गर्नु मात्र समस्याको समाधान या उपलब्धी होईन।जब सम्म सुस्ता, कालापानी ,लिपुलेक, लिम्पियाधुरा लगायत भारतले अतिक्रमण गरेका स्थान भौतिक रूपमा फिर्ता आउदैनन् तबसम्म उपलब्धि मान्न सकिदैन । ती अतिक्रमित स्थान फिर्ता नआएर कतै ठूलै मोलतोल लेनादेनामा सुषुप्त भयो भने , नेपाल र नेपाली जनताको राष्ट्रवादी भावना संग खेलवाड हुनेछ।

अहिले गरे देखाएका सबै कार्य र प्रतिवद्धता सत्ता बचाउने र आफुलाई चोख्याउने राजनैतिक जादुगरी हुनेछ । भावनामा मौलाएको राष्ट्रवाद भौतिकतामा मुर्झाउने छ। त्यसैले नेपाली जनता सचेत बनौं, कतै भावनामा मौलाएको नेपाली राष्ट्रवाद भौतिकतामा नमुर्झाओस !



प्रतिक्रिया दिनुहोस !