मदन भण्डारीलाई युवा विज्ञ परिषद्को प्रमुख जिम्मेवारी

काठमाडौँ । राष्ट्रिय युवा सङ्घ नेपालले कास्की जिल्लाका मदन भण्डारीलाई युवा विज्ञ परिषद्को प्रमुख चयन गरेको छ। आज युवा सङ्घले जारी गरेको सर्कुलरमा जिम्मेवारी हेरफेर गर्दै उनलाई प्रमुख बनाइएको हो।
भण्डारीको नेतृत्वमा परिषद्ले सशक्त र रचनात्मक कार्यक्रमहरूको थालनी गर्ने लक्ष्य लिएको छ। यसका साथै, परिषद्मा ५१ केन्द्रीय सदस्य रहनेछन्, जसमा प्रमुख, उपप्रमुख र सचिव रहेका छन्।
मदन भण्डारी साइबर सर्कल विभागका संस्थापक प्रमुख हुन् र उनले डिजिटल प्रविधि र साइबर सुरक्षाका मुद्दामा सक्रिय कार्य गरेका छन्। अब उनी युवा विज्ञ परिषद्लाई पुनः सक्रिय बनाउने, रचनात्मक कार्यक्रम अघि बढाउने र युवाको नीति निर्माणमा प्रभावकारी भूमिका सुनिश्चित गर्ने उद्देश्यले काम गर्नेछन्।
युवा सङ्घका एक पदाधिकारीका अनुसार, भण्डारीको नेतृत्व क्षमता, कार्यदक्षता र नवाचारका कारण उनलाई यस जिम्मेवारी दिइएको हो। भण्डारीले परिषद्लाई अब तदारुकताका साथ अघि बढाउने र युवाको पेशागत क्षमता अभिवृद्धि गर्ने कार्यक्रमहरू ल्याउने बताएका छन्।
नयाँ नेतृत्वसँगै, परिषद्ले व्यावसायिक, विज्ञान, प्रविधि, राजनीति, समाजसेवा र शिक्षा लगायतका क्षेत्रमा युवाविद् र विज्ञहरूलाई सक्रिय रूपमा संलग्न गराउने योजना बनाएको छ। यससँगै, युवा विज्ञ परिषद्ले देशभरका युवालाई नीति निर्माणमा समावेश गर्न ठोस कदम चाल्ने अपेक्षा गरिएको छ।